किभबाट कूटनीतिज्ञ र विदेशी नागरिक हटाउन मस्कोको आग्रह

मस्कोले किभमा रहेका विदेशी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाहरूलाई आफ्ना कर्मचारी तथा नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ। रुसले युक्रेनले विजय दिवस समारोहलाई लक्षित गर्दै आक्रमण गर्ने योजना अघि बढाएमा ठूलो प्रतिकारात्मक हमला हुन सक्ने चेतावनी दिएको हो।

रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार विदेश मन्त्रालयले रुसमा मान्यता प्राप्त सबै कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थालाई औपचारिक नोट पठाएर किभबाट आफ्ना कर्मचारी हटाउन अनुरोध गरेको छ। उक्त नोटमा युक्रेनले “आतंकवादी योजना” कार्यान्वयन गरेमा रुसले किभका “निर्णय केन्द्रहरू” सहित विभिन्न लक्ष्यमा प्रतिकारात्मक आक्रमण गर्ने उल्लेख गरिएको छ।

यसअघि रूसी रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्यको सम्झनामा मे ८–९ मा युद्धविराम घोषणा गरेको थियो। मन्त्रालयले युक्रेनलाई पनि युद्धविराम पालना गर्न आग्रह गर्दै मस्कोमा हुने विजय दिवस समारोहलाई निशाना बनाइए कडा प्रतिक्रिया दिने चेतावनी दिएको थियो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले रूसी प्रस्तावलाई “अनुचित” भन्दै आलोचना गरेका थिए। उनले किभलाई आधिकारिक रूपमा कुनै प्रस्ताव नआएको दाबी गर्दै मे ५–६ को मध्यरातदेखि एकतर्फी युद्धविराम घोषणा गरेका थिए। साथै उनले रुसले गर्ने कदमअनुसार युक्रेनले पनि “उस्तै प्रतिक्रिया” दिने बताएका थिए।

रूसले जेलेंस्कीको युद्धविराम घोषणाबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। केही सञ्चारमाध्यमका अनुसार दुवै पक्षबाट लामो दूरीका आक्रमण केही घटे पनि युद्ध जारी रहेको छ। जेलेंस्कीले भने रुसले बुधबार मात्रै झन्डै २ हजार पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।

रूसले युक्रेन युद्धका क्रममा विभिन्न प्रमुख पर्व र अवसरमा पटक–पटक युद्धविराम घोषणा गर्दै आएको छ। गत महिना घोषणा गरिएको इस्टर युद्धविरामका क्रममा युक्रेनले ३२ घण्टाभित्र ६ हजार ५ सयभन्दा बढी उल्लंघन गरेको रूसी सेनाले दाबी गरेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top