भारतका प्रमुख एयरलाइन्स कम्पनीहरूले बढ्दो जेट इन्धन (एभिएसन टर्बाइन फ्युल–एटीएफ) को मूल्यका कारण सञ्चालन जोखिममा परेको भन्दै सरकारसँग तत्काल सहयोगको माग गरेका छन्। अप्रिल २९ मा सार्वजनिक विवरण अनुसार, उद्योग संगठन फेडरेशन अफ इन्डियन एयरलाइन्स (एफआईए) ले मूल्य निर्धारण प्रणाली असन्तुलित र अस्थिर भएकोले उडान सेवा नै असम्भव हुने अवस्था आएको जनाएको छ।
एफआईएमा आवद्ध एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता कम्पनीहरूले सरकारलाई पठाएको पत्रमा एटीएफ मूल्य “अत्यन्तै अनियमित र अप्रत्याशित” बन्दै गएको उल्लेख छ। यसले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा गम्भीर असर पार्दै नेटवर्क नै टिकाउ नहुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ।
हाल एटीएफको लागत एयरलाइन्सको कुल सञ्चालन खर्चको करिब ५५–६० प्रतिशतसम्म पुगेको छ, जुन पहिले ३०–४० प्रतिशतको आसपास थियो। यसैबीच, भारतमा हालै अन्तर्राष्ट्रिय उडानका लागि इन्धन मूल्य बढाइएको छ भने आन्तरिक उडानमा पनि केही वृद्धि गरिएको छ।
मिडिया रिपोर्टहरूका अनुसार, राज्य चुनाव सकिएपछि सरकारले इन्धन मूल्य थप बढाउन सक्ने अड्कल गरिएको छ, यद्यपि अधिकारीहरूले पेट्रोल मूल्य वृद्धि योजनालाई अस्वीकार गरेका छन् र एटीएफबारे स्पष्ट जवाफ दिएका छैनन्।
उच्च इन्धन लागतका कारण उडान सेवा प्रभावित हुँदै गएको देखिएको छ। फेब्रुअरी २८ देखि अप्रिल २४ सम्म भारतीय एयरलाइन्सका १५ हजार ४०० भन्दा बढी उडान रद्द भएका छन्। साथै, मध्यपूर्वतर्फ दैनिक उडान संख्या पनि पहिले करिब २०० बाट घटेर ५०–५५ मा सीमित भएको रिपोर्टमा उल्लेख छ।
भारतमा एटीएफ मूल्य पहिलो पटक प्रतिकिलो लिटर २,१४५ डलरभन्दा माथि पुगेको छ, जुन अहिलेसम्मकै उच्च स्तर हो। यसअघि सन् २०२२ मा युक्रेन द्वन्द्वपछि मूल्य करिब १,१८० डलरसम्म पुगेको थियो।
भारतमा एटीएफ मूल्य २००१ देखि अन्तर्राष्ट्रिय बजार र विनिमय दरका आधारमा प्रत्येक महिनाको पहिलो दिन समायोजन गरिँदै आएको छ।
