अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच तीन दिनको युद्धविराम लागू हुने घोषणा गरेका छन्। मस्को र किभ दुवैले युद्धविरामको पुष्टि गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ९ मेदेखि ११ मेसम्म युद्धविराम लागू हुने जानकारी दिएका हुन्। उनले उक्त अवधिमा रूस र युक्रेनले एक–एक हजार युद्धबन्दी आदानप्रदान गर्ने पनि बताएका छन्।
ट्रम्पका अनुसार रूसको विजय दिवस समारोहका अवसरमा युद्धविराम गरिनेछ। उनले युक्रेन पनि दोस्रो विश्वयुद्धको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गरेका छन्।
ट्रम्पले युद्धविरामको प्रस्ताव आफूले प्रत्यक्ष रूपमा गरेको र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की दुवैले सहमति जनाएको बताएका छन्।
उनले यो कदम लामो समयदेखि जारी घातक युद्ध अन्त्यतर्फको सुरुआत बन्न सक्ने आशा व्यक्त गरेका छन्। ट्रम्पले युद्ध अन्त्यका लागि वार्ता निरन्तर जारी रहेको र दुवै पक्ष सम्झौताका नजिक पुगिरहेको दाबी गरेका छन्।
रूसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उशाकोभले पनि युद्धविरामको पुष्टि गरेका छन्। उनका अनुसार मस्कोले यसअघि ८–९ मेका लागि घोषणा गरेको युद्धविरामलाई ट्रम्पले उल्लेख गरेको अवधिसम्म विस्तार गर्न सहमति जनाएको हो।
