रत्नायकेको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम तेस्रो पटक एनपीएलको फाइनलमा, फेरि लुम्बिनीसँग उपाधि भिडन्त

काठमाडौं, २०८३ मंसिर ३। थारिन्दु रत्नायकेको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा पुगेको हो।

चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थारिन्दु रत्नायकेले अविजित ५३ रनको महत्वपूर्ण योगदान दिए। उनले ४२ बलमा ७ चौका प्रहार गरे।

एक समय ५८ रनमा ४ विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमलाई रत्नायकेले सम्हालेका थिए। उनले कप्तान दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटका लागि ३१ रनको साझेदारी गरे। त्यसपछि आरिफ शेखसँग २६ र फाबियन एलेनसँग ३० रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्‍याए।

अन्तिम ओभरमा सुदूरपश्चिमलाई जितका लागि ४ रन आवश्यक थियो। चितवनका कमिल मिरशाले पहिलो चार बलमा २ रन मात्र दिएपछि खेल रोमाञ्चक बनेको थियो। चौथो बलमा एलेन रनआउट भए पनि पाँचौं बलमा रत्नायकेले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई फाइनल पुर्‍याए।

सुदूरपश्चिमका विनोद भण्डारीले १३ बलमा २३ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे। आरिफ शेखले १० रन बनाए। चितवनका लागि रञ्जित कुमारले २ विकेट लिए भने अन्य पाँच बलरले समान एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो। चितवनका लागि डेभिड मलानले सर्वाधिक ७१ रन बनाए। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए।

चितवनको सुरुवात भने निकै कमजोर रह्यो। १५ रन जोड्दा दुई विकेट गुमाएको टोली कप्तान रवि बोपारा पनि व्यक्तिगत एक रनमा आउट भएपछि ३१ रनमा तीन विकेटको अवस्थामा पुगेको थियो। एकपछि अर्को विकेट गुमाउने क्रममा चितवन ६२ रनमा ६ विकेट गुमाएर संकटमा परेको थियो।

त्यसपछि मलानले सलाउद्दीन खानसँग सातौं विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गरे। सलाउद्दीनले १८ रन बनाए। मलानले कमलसिंह ऐरी र रिजन ढकालसँग पनि उपयोगी साझेदारी गर्दै अन्तिमसम्म अविजित रहे। सुदूरपश्चिमका स्कट कुगेलेइनले तीन तथा रत्नायकेले दुई विकेट लिए।

बलिङमा २३ रन खर्चेर दुई विकेट लिएका र ब्याटिङमा अविजित ५३ रन बनाएका रत्नायके खेलको प्लेयर अफ द म्याच घोषित भए।

यस जितसँगै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ। यसअघिका दुवै संस्करणमा फाइनल खेले पनि टोली उपाधि जित्न असफल भएको थियो। पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले यसपटक पनि लुम्बिनीसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग सुदूरपश्चिमको पुरानो प्रतिद्वन्द्विता फेरि दोहोरिनेछ। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो। यस सिजन लिग चरणको पहिलो भेट र पहिलो क्वालिफायरमा समेत लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गरेको थियो।

लुम्बिनीका लागि सुदूरपश्चिमविरुद्ध लगातार चौथो जित निकाल्दै उपाधि रक्षा गर्ने अवसर हुनेछ। यता सुदूरपश्चिम भने यसअघिका तीन हारको बदला लिँदै पहिलो पटक एनपीएल उपाधि जित्ने लक्ष्यमा हुनेछ।

Scroll to Top