काठमाडौं, २७ कात्तिक। प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डललाई नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर दुई देशबीचको आर्थिक तथा प्राविधिक सहकार्य विस्तारका विषय उठाउन निर्देशन दिएका छन्। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चीन भ्रमणको तयारीमा रहेको टोलीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले भ्रमणलाई औपचारिक भेटघाट र घुमघाममा मात्र सीमित नराख्न सुझाव दिएका हुन्।रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले नोभेम्बर १५ देखि २६ सम्म चीनको भ्रमण गर्दैछ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा हुन लागेको भ्रमणमा पार्टीका सांसद तथा नेताहरू सहभागी हुनेछन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले चीनबाट नेपालले लिन सक्ने आर्थिक तथा प्राविधिक लाभका विषयमा गम्भीर अध्ययन गर्न निर्देशन दिएको जानकारी दिए।प्रधानमन्त्रीले विशेषगरी चीनले प्रविधि, व्यापार, उद्योग, पर्यटन र कृषि आधुनिकीकरणका क्षेत्रमा हासिल गरेका उपलब्धिबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा छलफल र अनुभव आदानप्रदान गर्न आग्रह गरेका छन्।
बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएका छन्। दुई देशको पारस्परिक हितसँगै नेपालको विकास र समृद्धिमा योगदान पुर्याउने विषयलाई भ्रमणको प्राथमिकतामा राख्न पनि उनले जोड दिएका छन्। नोभेम्बर १५ मा चीन प्रस्थान गर्ने टोली नोभेम्बर २६ मा स्वदेश फर्कने कार्यक्रम छ। भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका विभिन्न सहर तथा औद्योगिक र प्रविधि केन्द्रहरूको अवलोकन गर्नेछ।
टोलीले सुशासन, आर्थिक विकास, सरकारी सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनका सम्भावनाबारे चिनियाँ पक्षसँग छलफल तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता तथा विभिन्न संस्थाको अवलोकनसमेत हुनेछ। जेजियाङ प्रान्तको जिन्ह्वामा नेपाल र चीनका उद्यमीबीच व्यावसायिक अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको छ।
चीन भ्रमणका क्रममा नेपाल–चीन सीमा विवादको विषयमा छलफल नहुने रास्वपाका प्रमुख सचेतक बुर्लाकोटीले स्पष्ट पारेका छन्। उनका अनुसार यो चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा हुन लागेको राजनीतिक दलस्तरको भ्रमण भएकाले सीमा विवादको विषय औपचारिक कार्यसूचीमा समावेश गरिएको छैन।
चीन नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो। व्यापार, पूर्वाधार, पर्यटन र प्रविधिको क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्ने सम्भावना रहेकाले रास्वपा प्रतिनिधिमण्डलको यस भ्रमणलाई राजनीतिक भेटघाटसँगै आर्थिक तथा विकाससम्बन्धी अनुभव आदानप्रदानको अवसरका रूपमा हेरिएको छ।
