काठमाडौं, २०८३ मंसिर ६। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको फाइनलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
गत संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए। त्यतिबेला लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक सुदूरपश्चिमसँग गत वर्षको हारको बदला लिने अवसर छ भने लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ।
यस संस्करणमा लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी प्रमुख ब्याटरका रूपमा छन्। प्रतियोगितामा उनले २१७ रन बनाएका छन्। बलिङतर्फ स्कट कुगेलेइनले १३ विकेट लिएका छन्।
लुम्बिनीका लागि निरोशन डिकवेला र शेर मल्ल महत्वपूर्ण खेलाडीका रूपमा छन्। डिकवेलाले प्रतियोगितामा १५० रन बनाएका छन् भने शेर मल्लले ११ विकेट लिएका छन्।
आजको फाइनल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुने आयोजकको तालिकामा उल्लेख छ।
