स्थानीय निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग, आज राष्ट्रिय दलहरूसँग छलफल

काठमाडौँ, २०८३ मंसिर ४ गते। निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाउँदै आज (शुक्रबार) राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचनको मिति निर्धारण, व्यवस्थापन तथा आवश्यक पूर्वतयारीबारे दलहरूको सुझाव लिन आयोगले बिहान ११ः३० बजेका लागि बैठक बोलाएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तह निर्वाचनका विषयमा परामर्श गर्न राष्ट्रिय मान्यता प्राप्त दलका प्रतिनिधिहरूलाई आयोगमा आमन्त्रण गरिएको छ। छलफलमा स्थानीय तहसँगै प्रदेश तहको निर्वाचनका विषयमा समेत आवश्यक परामर्श हुने जनाइएको छ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। यी दलका प्रतिनिधिहरूसँग निर्वाचनको मिति, निर्वाचन व्यवस्थापन र तयारीका विभिन्न पक्षमा सुझाव लिने आयोगको योजना छ।

स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ। त्यसलाई मध्यनजर गर्दै आयोगले नयाँ निर्वाचनको तयारी र मिति निर्धारणका लागि गृहकार्य अघि बढाएको हो।

राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगले अन्य दर्तावाल राजनीतिक दलहरूसँग पनि चरणबद्ध रूपमा परामर्श गर्ने कार्यक्रम तय गरेको छ।

Scroll to Top