काठमाडौं, २०८३ मंसिर २। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजसामु २०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको हो।
चितवनका ओपनर कमिल मिशाराले उत्कृष्ट ब्याटिङ गर्दै १२० रनको अविजित शतकीय इनिङ खेले। उनले आक्रामक ब्याटिङ गर्दै काठमाडौंका बलरमाथि दबाब सिर्जना गरेका थिए।
कप्तान रवि बोपाराले पनि ४२ बलमा ५३ रन बनाए। मिशारा र बोपाराबीच तेस्रो विकेटका लागि १५४ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। दुवैको उत्कृष्ट प्रदर्शनले चितवनलाई बलियो योगफलसम्म पुर्याएको हो।
२०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले दोस्रो इनिङमा १२.१ ओभरमा ४ विकेट गुमाएर ८० रन बनाउँदा खेल जारी छ। अनलाइनखबरको लाइभ स्कोरअनुसार काठमाडौंलाई जितका लागि ४७ बलमा थप १२५ रन आवश्यक छ।
यस खेलमा पराजित हुने टोलीको एनपीएल उपाधि यात्रा समाप्त हुनेछ। विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ।
