काठमाडौँ, २०८३ मंसिर २ गते। प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमण, नेपाल–भारत द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। साथै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको राहत तथा सहयोगप्रति उनले आभार व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए। जवाफमा राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।
राजदूत दलेलाका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका मुख्य एजेन्डा तय भइसकेका छन्। भ्रमणलाई उपलब्धिमूलक बनाउन नेपाल र भारतका सम्बन्धित निकायहरूबीच आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिएका थिए।
प्रधानमन्त्री शाह आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने कार्यक्रम छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणमा दुई देशबीच आर्थिक सहकार्य, विकास आयोजना, हवाई सम्पर्क तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
