भारतले नेपाललाई ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यातको अनुमति दियो

काठमाडौं, २०८३ मंसिर १ गते। भारतले नेपाललाई आगामी हिउँदमा ३५० मेगावाट विद्युत् आयात गर्न र तीन जलविद्युत् आयोजनाबाट उत्पादित ५६ मेगावाट विद्युत् भारतीय बजारमा निर्यात गर्न अनुमति दिएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरण (एनईए) लाई उक्त अनुमति दिएको हो।

अनुमतिअनुसार नेपालले सन् २०२६ नोभेम्बर १७ देखि २०२७ जुलाई ३१ सम्म भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स) को डे-अहेड र रियल-टाइम बजारबाट प्रतिस्पर्धी मूल्यमा दैनिक अधिकतम १७ घण्टासम्म बिजुली खरिद गर्न सक्नेछ। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म भने विद्युत् आयात गर्न पाइने छैन।

स्वीकृत ३५० मेगावाटमध्ये ३०० मेगावाट कटैया-कुशाहा, रामनगर-सूरजपुरा र रक्सौल-पर्वानीपुर १३२ केभी प्रसारण लाइनमार्फत आयात गरिनेछ। बाँकी ५० मेगावाट न्यू नौतनवा-मैनहिया १३२ केभी प्रसारण लाइनबाट ल्याउन सकिनेछ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएपछि आगामी हिउँदमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुनेछ। रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण पूर्वाधारमा क्षति पुगेपछि कुल ४३१ मेगावाट क्षमताका आयोजनाहरू राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका छन्।

प्राधिकरणको अनुमानअनुसार आगामी पुसदेखि चैतसम्म नेपालको आन्तरिक विद्युत् उत्पादनले माग धान्न कठिन हुनेछ। विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्नेछ। उच्च माग हुने समयमा भने आयातको आवश्यकता ८०० देखि ९०० मेगावाटसम्म पुग्न सक्ने प्राधिकरणको आकलन छ।

आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्दै जाँदा जलविद्युत् उत्पादनमा सुधार आउने अपेक्षा गरिएको छ। त्यसपछि भारतबाट विद्युत् आयातको आवश्यकता क्रमशः घट्ने र नेपालबाट पुनः विद्युत् निर्यात बढाउन सकिने प्राधिकरणको अनुमान छ।

यसैबीच, भारतले नेपालका तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमार्फत बिक्री गर्न पनि अनुमति दिएको छ। आयात र निर्यात दुवैको अनुमति २०२७ जुलाई ३१ सम्मका लागि कायम रहनेछ।

Scroll to Top