भैरहवा, २९ वैशाख २०८३ — रूपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा लामो समयको सुस्ततापछि उद्योगीहरूको आकर्षण पुनः बढ्न थालेको छ। सरकारीस्तरबाट भाडा दरमा गरिएको भारी कटौती र नीतिगत लचकताका कारण अहिले सेजभित्र उत्साहजनक औद्योगिक गतिविधि देखिएको छ। पछिल्लो समय सेजभित्र एकैपटक छ वटा नयाँ उद्योगहरूले आफ्नो भौतिक संरचना निर्माणलाई तीव्रता दिएका छन्, जसले वर्षौँदेखि खाली रहेका प्लटहरू भरिने क्रम सुरु भएको छ।
हाल निर्माणाधीन रहेका उद्योगहरूमा विद्युतीय उपकरण उत्पादन गर्ने स्पोर्ट इलेक्ट्रिक प्रालि, स्टिल र धातुजन्य सामग्रीका लागि सिंचाइ मेटल क्राफ्ट, र सूचना प्रविधि क्षेत्रको डाटा वर्ल्ड प्रालि रहेका छन्। यसका साथै डिएलएल ग्लोबलले बहुमूल्य गहना तथा अलमाइटी ओभरसिजले उत्पादनमूलक क्षेत्रमा लगानी गरी निर्माण कार्य अघि बढाएका छन्। सेज कार्यालयका अनुसार हालसम्म २१ वटा उद्योगले स्थापनाको अनुमति पाइसकेका छन्, जसमध्ये १२ वटा सञ्चालनमा आइसकेका छन् भने अन्य नयाँ उद्योगहरूले पनि अनुमति लिने प्रक्रिया सुरु गरेका छन्।
उद्योगीहरू सेजमा फर्किनुको मुख्य कारण जग्गाको भाडा दरमा गरिएको ठूलो हेरफेर हो। सुरुमा प्रतिवर्गमिटर १५० रुपैयाँ रहेको भाडालाई उद्योगीहरूको माग बमोजिम घटाएर २० रुपैयाँ कायम गरिएपछि लगानीकर्ताहरू आकर्षित भएका हुन्। यसका साथै उत्पादित वस्तुको निर्यातमा दिइँदै आएको सहुलियत र निर्यातको अनिवार्य सीमामा गरिएको सुधारले पनि सकारात्मक प्रभाव पारेको छ। गत आर्थिक वर्षमा मात्रै सेजभित्रका उद्योगहरूले ९१ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु उत्पादन गरेका थिए, जसमा झण्डै ६० करोड रुपैयाँ बराबरको सामग्री भारत लगायतका मुलुकमा निर्यात भएको छ। पूर्वाधार निर्माण र सहुलियतको सुनिश्चितता भएमा भैरहवा सेज मुलुककै प्रमुख निर्यात केन्द्र बन्ने अपेक्षा गरिएको छ।
