इरानको समाचार संस्था फार्सका अनुसार होर्मुज जलडमरूमध्य नजिक अमेरिकी नौसेनाको एक गस्ती जहाजमाथि मिसाइल प्रहार गरिएको छ, तर अमेरिकी सेनाले उक्त दाबीलाई अस्वीकार गरेको छ।
फार्स समाचार एजेन्सीका अनुसार सो अमेरिकी जहाज इरानको तटीय सहर जास्क नजिक, जलडमरूमध्यबाट करिब १४० किलोमिटर टाढा, सुरक्षा र नेभिगेसन नियम उल्लंघन गर्दै अघि बढिरहेको थियो। इरानी नौसेनाले दिएको चेतावनी बेवास्ता गरेपछि दुईवटा मिसाइल प्रहार गरिएको र जहाजलाई पछि हट्न बाध्य बनाइएको दाबी गरिएको छ। क्षतिको विवरण भने सार्वजनिक गरिएको छैन।
यद्यपि, अमेरिकी केन्द्रीय कमाण्डले उक्त दाबीलाई खण्डन गर्दै कुनै पनि अमेरिकी नौसेनाको जहाजमा आक्रमण नभएको जनाएको छ। उसले आफ्ना सेना ‘प्रोजेक्ट फ्रिडम’ अन्तर्गत काम गरिरहेको र इरानी बन्दरगाहमाथि लगाइएको नाकाबन्दी कार्यान्वयन गरिरहेको उल्लेख गरेको छ।
यस घटनाले क्षेत्रीय तनाव थप बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार होर्मुज क्षेत्रमा रोकिएका जहाजहरूलाई बाहिर निकाल्न सहयोग गर्ने बताएका थिए। उनले विभिन्न देशसँग सम्बन्धित जहाजहरूलाई सुरक्षित रूपमा मार्गदर्शन गरिने र अवरोध गरिएमा बल प्रयोग गरिने चेतावनी दिएका थिए।
यसको प्रतिक्रिया स्वरूप इरानी सेनाले कुनै पनि विदेशी सैन्य शक्ति, विशेष गरी अमेरिकी सेना, होर्मुज जलडमरूमध्य नजिक आएमा आक्रमण गरिने चेतावनी दिएको छ।
होर्मुज जलडमरूमध्य विश्वको करिब २० प्रतिशत समुद्री तेल व्यापारको प्रमुख मार्ग मानिन्छ। हालको द्वन्द्वपछि यो मार्ग प्रायः बन्दजस्तै भएको छ, जसले विश्व बजारमा तेलको मूल्य वृद्धि गराएको छ। अमेरिकामा पेट्रोलको औसत मूल्य ४.४ डलर नाघेको बताइएको छ।
अमेरिकाले इरानमाथि दबाब बढाउन नौसैनिक नाकाबन्दी जारी राखेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले यसलाई युद्धको कार्य र युद्धविरामको उल्लंघन भएको बताएका छन्।
