आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट घोषणाको मिति नजिकिँदै जाँदा अर्थ मन्त्रालयमा चहलपहल बढेको छ। आर्थिक मन्दी, सीमित स्रोतसाधन र बढ्दो जनअपेक्षाबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ऐतिहासिक र प्रभावकारी बजेट ल्याउने दबाबमा रहेका छन्।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अहिले सुरक्षा र गोपनीयता कडा बनाइएको छ। बजेट लेखन सुरु भएयता मन्त्रालय प्रवेशमा विशेष निगरानी राखिएको छ भने बजेट निर्माणमा संलग्न टोली छुट्टै ‘बजेट रुम’ मा बसेर काम गरिरहेको छ। मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री वाग्ले बिहानदेखि राति अबेरसम्म बजेट तयारीमै व्यस्त रहने गरेका छन्।
स्रोतका अनुसार बजेट भाषणको सामान्य अध्ययन मात्र नभई अर्थमन्त्रीले प्रत्येक बुँदामाथि गहिरो विश्लेषण गरिरहेका छन्। आवश्यक बाहेकका कार्यक्रम तथा विदेश भ्रमणसमेत स्थगित गरेर उनी पूर्ण रूपमा बजेट निर्माणमा केन्द्रित भएका छन्।
यसपटकको बजेटलाई केवल औपचारिक दस्तावेज नभई आर्थिक रूपान्तरणको आधार बनाउने तयारी गरिएको बताइएको छ। त्यसका लागि २०४८ सालमा तत्कालीन अर्थ राज्यमन्त्री महेश आचार्यले ल्याएको उदारीकरणमुखी बजेटलाई मुख्य प्रेरणाका रूपमा लिइएको छ। उक्त बजेटले नेपालमा खुला बजार अर्थतन्त्र, निजीकरण र आर्थिक उदारीकरणको सुरुवात गरेको मानिन्छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार यसपटकको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि, ठूला पूर्वाधार आयोजना तथा अर्थतन्त्र चलायमान बनाउने कार्यक्रमलाई प्राथमिकता दिन सकिने संकेत देखिएको छ। बजेटको आकार चालु वर्षको तुलनामा बढ्न सक्ने अनुमान पनि गरिएको छ।
