अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा नयाँ हवाई आक्रमण

२६ मे २०२६, अमेरिकी सेनाले दक्षिणी इरानमा रहेका विभिन्न सैन्य निसानामा नयाँ हवाई आक्रमणहरू गरेको छ, जसका कारण यस क्षेत्रमा तनाव थप चुलिएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) का अनुसार इरानी भूमिमा रहेका रणनीतिक क्षेप्यास्त्र प्रहार गर्ने केन्द्र (missile launch sites) र खाडी क्षेत्रमा माइन बिछ्याउन प्रयोग गरिने जहाजहरूलाई (mine-laying vessels) लक्षित गरी सो सैन्य कारबाही गरिएको हो।
अमेरिकी सैन्य प्रवक्ताले यस सैन्य कदमलाई “आत्मरक्षाका लागि” चालिएको आवश्यक कदम भनी परिभाषित गरेका छन्। यसअघि इरानको दक्षिणी बन्दरगाह सहर बन्दार अब्बास (Bandar Abbas) मा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएको स्थानीय तथा इरानी सञ्चारमाध्यमहरूले पुष्टि गरेका थिए।
शान्ति वार्ता भइरहँदा सैन्य आक्रमण यस्तो संवेदनशील समयमा भएको छ जब दुवै देशका शीर्ष वार्ताकारहरू कतारमा सम्भावित युद्धविराम र शान्ति सम्झौताका बुँदाहरूमा गहन छलफल गरिरहेका छन्। इरान र अमेरिका–इजरायल बीचको तीन महिना लामो युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता अघि बढेको हो।
इरानी विदेश मन्त्रालयका प्रवक्ताले कतारमा जारी वार्तामा केही सकारात्मक प्रगति भएको स्वीकार गरे तापनि सम्झौता तत्कालै वा ‘भोलि नै’ भइहाल्ने अवस्था नरहेको भन्दै सतर्कता व्यक्त गरेका छन्।
इरानले अमेरिकी आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै इरानको विदेश मन्त्रालयले अमेरिकाले हर्मोजगान (Hormozgan) क्षेत्रमा युद्धविरामको ठाडो उल्लङ्घन गरेको आरोप लगाएको छ। इरानी प्रवक्ताले यस आक्रामक कदमको उचित र सशक्त जवाफ दिइने स्पष्ट पार्दै आफ्नो सार्वभौमिकता रक्षाका लागि देश पछि नहट्ने चेतावनी दिएका छन्।
यसै क्रममा, इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले आफ्नो टेलिग्राम च्यानलमार्फत एक सन्देश जारी गर्दै अबका दिनमा खाडी क्षेत्रका शक्तिहरू अमेरिकी सैन्य अखडाका लागि “ढाल” बन्ने छैनन् र अमेरिकाका लागि यस क्षेत्रमा कुनै पनि सुरक्षित स्थान (safe haven) बाँकी रहने छैन भनी चेतावनी दिएका ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्नका लागि नयाँ सर्तहरू अघि सारेका छन्। राष्ट्रपति ट्रम्पले कुनै पनि शान्ति सम्झौता दिगो हुनका लागि साउदी अरब, पाकिस्तान र टर्कीजस्ता क्षेत्रीय शक्ति राष्ट्रहरू पनि यस प्रक्रियामा सहभागी हुनुपर्ने बताएका छन्। उनले ती देशहरूले इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने ‘अब्राहम एकोर्ड्स’ (Abraham Accords) मा हस्ताक्षर गर्नुपर्ने अडान राखेका छन्।
यसै युद्धको अर्को मोर्चामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा सक्रिय सशस्त्र समूह हेजबुल्लाहविरुद्ध “शसक्त प्रहार” जारी राख्न आदेश दिएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार मार्च २ यता भएका तीव्र इजरायली हवाई आक्रमणमा परी कम्तीमा ३,१८५ जनाको मृत्यु भइसकेको छ भने ९,६३३ भन्दा बढी मानिस घाइते भएका छन्। हाल इजरायली सेनाले लेबनानको पूर्वी बेक्का उपत्यका र दक्षिणी क्षेत्रलाई मुख्य निसाना बनाइरहेको छ।

Scroll to Top