बेइजिङमा ट्रम्प र सीबीच के सहमति बन्यो?

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति बीच बेइजिङमा भएको उच्चस्तरीय भेटवार्ताले विश्व राजनीतिमा व्यापक चासो उत्पन्न गरेको छ। व्यापार, ताइवान, इरान र रणनीतिक सम्बन्धजस्ता संवेदनशील विषयमा छलफल भए पनि दुवै देशबीच ठोस सहमति भने सीमित देखिएको छ।

लगभग एक दशकपछि बेइजिङ भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका ट्रम्पले दुईदिने चीन भ्रमण शुक्रबार सम्पन्न गरेका हुन्। भ्रमणका क्रममा चीनले ट्रम्पलाई विशेष सम्मान दिएको थियो। सैन्य सम्मान, रातो कार्पेट स्वागतदेखि राष्ट्रपति सीको सरकारी आवास झोङनानहाइमा गरिएको विशेष भ्रमणसम्म कार्यक्रम भव्य रूपमा आयोजना गरिएको थियो।

राजकीय भोजमा सी चिनफिङले “चिनियाँ राष्ट्रको पुनर्जागरण र अमेरिकालाई महान बनाउने लक्ष्य सँगसँगै अघि बढ्न सक्छ” बताएका थिए। ट्रम्पले पनि स्वागत समारोहलाई आफूले जीवनमा कमै देखेको सम्मानको रूपमा वर्णन गरेका थिए।

ताइवानबारे पुरानै मतभेद कायम

ताइवानको विषयमा भने दुवै देशबीच मतभेद यथावत् देखिएको छ। चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग बताउँदै आएको छ भने अमेरिकाले लामो समयदेखि “रणनीतिक अस्पष्टता” नीति अपनाउँदै आएको छ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार सीले ट्रम्पलाई ताइवानको विषय चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील मुद्दा भएको चेतावनी दिएका थिए। ट्रम्पले पनि ताइवानबारे धेरै छलफल भएको स्वीकार गरे पनि कुनै स्पष्ट प्रतिबद्धता नगरेको बताएका छन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले “९,५०० माइल टाढा गएर युद्ध लड्ने पक्षमा आफू नरहेको” बताएका थिए। उनले अमेरिका र चीन दुवैले तनाव कम गर्नुपर्ने आवश्यकता औंल्याए।

इरानबारे फरक–फरक दाबी

इरानको विषयमा ट्रम्प प्रशासनले चीनले इरानलाई परमाणु सम्झौतामा ल्याउन सहयोग गर्ने संकेत दिएको दाबी गरेको छ। ट्रम्पले “इरानसँगको समस्या समाधान हुनुपर्छ र उसले परमाणु हतियार बनाउन नपाओस् भन्नेमा दुवै देश सहमत रहेको” बताएका थिए।

तर चीनले जारी गरेको आधिकारिक वक्तव्यमा परमाणु हतियार वा अमेरिकी तेल खरिदबारे कुनै उल्लेख गरिएको छैन। चिनियाँ पक्षले केवल “संघर्ष जारी राख्नुको कुनै अर्थ छैन” भन्दै वार्तामार्फत समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गरेको थियो।

चीनले हाल इरानबाट आफ्नो करिब १२ प्रतिशत तेल आयात गर्दै आएको छ। यसैबीच ट्रम्पले चिनियाँ कम्पनीहरूमाथि लगाइएका इरानी तेलसम्बन्धी प्रतिबन्ध हटाउने सम्भावना पनि संकेत गरेका छन्।

व्यापार युद्ध अझै पूर्ण रूपमा समाधान भएन

अमेरिका–चीन व्यापार युद्ध अस्थायी रूपमा रोकिएको अवस्थामा ट्रम्पले भ्रमणपछि “उत्कृष्ट व्यापार सम्झौता” भएको दाबी गरेका छन्। उनले चीनले २०० वटा बोइङ विमान खरिद गर्ने समझदारी भएको बताएका थिए।

अमेरिकी अधिकारीहरूले चीनले आगामी तीन वर्षमा अर्बौं डलर बराबरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने अपेक्षा पनि व्यक्त गरेका छन्। तर चीन सरकारले कुनै व्यापार सम्झौताको औपचारिक पुष्टि गरेको छैन।

भ्रमणका क्रममा र लगायत अमेरिकी व्यवसायीहरूले पनि चिनियाँ नेतृत्वसँग भेट गरेका थिए। चीनले अमेरिका–चीन आर्थिक सम्बन्धलाई “दुवै पक्षका लागि लाभदायक” भएको टिप्पणी गरेको छ।

दुर्लभ खनिज र फेन्टानिलको विषय अनिर्णीत

अमेरिकाले चीनमाथि फेन्टानिल र त्यसका रसायन अमेरिकामा प्रवेश गराउन सहयोग गरेको आरोप लगाउँदै आएको छ। ह्वाइट हाउसले यस विषयमा प्रगति भएको दाबी गरे पनि चिनियाँ पक्षले आफ्नो वक्तव्यमा यसको उल्लेख गरेको छैन।

त्यसैगरी विद्युतीय सवारीसाधन, मिसाइल र उच्च प्रविधिमा प्रयोग हुने दुर्लभ खनिज (रेयर अर्थ) सम्बन्धी विषय पनि अनिर्णीत नै रहेको देखिएको छ। चीनले यी खनिजको निर्यातमा नियन्त्रण गर्दै आएको छ, जसलाई व्यापार युद्धमा उसको बलियो हतियार मानिन्छ।

सेप्टेम्बरमा सीको अमेरिका भ्रमण

यद्यपि प्रमुख विवादित विषयमा ठोस समाधान ननिस्किए पनि दुवै पक्षले भ्रमणलाई सकारात्मक रूपमा प्रस्तुत गरेका छन्। ट्रम्पले भ्रमणलाई “अत्यन्त सफल” भनेका छन् भने सीले यसलाई “ऐतिहासिक” भ्रमणको संज्ञा दिएका छन्।

भेटवार्ताको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा ट्रम्पले सीलाई सेप्टेम्बरमा ह्वाइट हाउस भ्रमणको निमन्त्रणा दिएका छन्, जसलाई चीनले स्वीकार गरिसकेको जनाएको छ। विश्लेषकहरूले यसलाई अमेरिका र चीनबीच व्यापार तथा रणनीतिक सहमतितर्फको अर्को कदमको रूपमा हेरेका छन्।

Scroll to Top