भारत र संयुक्त अरब इमिरेट्स (यूएई) बीच ऊर्जा, रक्षा तथा पूर्वाधार क्षेत्रमा विभिन्न महत्वपूर्ण सम्झौताहरू भएका छन्। भारतीय प्रधानमन्त्री को यूएई भ्रमणका क्रममा यी सहमतिहरू सार्वजनिक भएका हुन्।
मोदी आफ्नो पाँच राष्ट्र भ्रमणको पहिलो चरणमा यूएई पुगेका थिए। त्यसपछि उनी नेदरल्यान्ड्स, स्विडेन, नर्वे र इटाली जाने कार्यक्रम रहेको बताइएको छ।
यूएईले भारतमा ५ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने प्रतिबद्धता पनि जनाएको छ। यसमध्ये ४ अर्ब डलर यूएईका वित्तीय संस्थाहरूले भारतीय बैंकहरूमा लगानी गर्नेछन् भने १ अर्ब डलर ले भारतको नेशनल इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट फन्डसँग मिलेर पूर्वाधार परियोजनामा लगानी गर्ने योजना बनाएको छ।
दुवै देशबीच रक्षा सहकार्यको रूपरेखा, रणनीतिक पेट्रोलियम भण्डारण तथा एलपीजी आपूर्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको भारतीय पक्षले जनाएको छ। ऊर्जा सहकार्यअन्तर्गत भारतमा एलएनजी र एलपीजी भण्डारण सुविधा विस्तारमा पनि सहकार्य गर्ने सहमति भएको छ।
यसैबीच, भारतको गुजरात राज्यको वदिनार क्षेत्रमा जहाज मर्मत केन्द्र निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। साथै, सुपरकम्प्युटर क्लस्टर स्थापना गर्ने विषयमा पनि सहमति बनेको बताइएको छ।
भेटका क्रममा मोदीले मध्यपूर्वमा जारी तनावका बीच यूएईमाथि भएका आक्रमणको निन्दा गरेका छन्। उनले यूएईलाई लक्षित बनाइएको घटनालाई अस्वीकार्य भन्दै भारत सधैं संवाद र कूटनीतिक माध्यमबाट समस्या समाधानको पक्षमा रहेको बताएका छन्।
उनले होर्मुज जलडमरूमध्य सुरक्षित र खुला राख्न अन्तर्राष्ट्रिय कानुनको पालना आवश्यक रहेको पनि उल्लेख गरे। हाल इरान र अमेरिकाबीच बढ्दो तनावका कारण उक्त क्षेत्र विश्व ऊर्जा आपूर्तिको दृष्टिले संवेदनशील बनेको छ।
