राउल कास्त्रोविरुद्ध अभियोग सार्वजनिक गर्ने ट्रम्पको तयारी

अमेरिकी प्रशासनले आगामी मे २० मा क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रो विरुद्ध आपराधिक अभियोग सार्वजनिक गर्ने तयारी गरेको छ। अमेरिकी न्याय विभागका एक अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रिपोर्टअनुसार अभियोग सन् १९९६ मा क्युबाली लडाकु विमानले “Brothers to the Rescue” समूहका दुई विमान खसालेको घटनासँग सम्बन्धित छ। उक्त घटनामा चार जनाको मृत्यु भएको थियो। अमेरिकाले विमानहरू अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा रहेको दाबी गर्दै आएको छ भने क्युबाले आफ्नो हवाई क्षेत्र उल्लंघन भएपछि कारबाही गरिएको बताएको थियो।

९४ वर्षीय राउल कास्त्रो दिवंगत क्युबाली नेता फिडेल क्यास्ट्रोका का भाइ हुन्। घटना भएको समयमा उनी क्युबाका रक्षा मन्त्री थिए। पछि उनी क्युबाको राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका प्रमुख बनेका थिए।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अभियोग सार्वजनिक हुनुअघि ग्रान्ड जूरीबाट स्वीकृति लिनुपर्नेछ। यसअघि पनि अमेरिकाले उक्त घटनासँग सम्बन्धित केही क्युबाली सैन्य अधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो, तर उनीहरूलाई अमेरिकामा उपस्थित गराउन सकेको थिएन।

यो कदम राष्ट्रपति ट्रम्प प्रशासनले क्युबामाथि दबाब बढाइरहेको समयमा आएको बताइएको छ।

Scroll to Top