ब्राजिलको वेलो होरिजोन्तेमा सानो एक–इन्जिनयुक्त विमान आवासीय भवनमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते अवस्थामा बाँच्न सफल भएका छन्। घटना मे ५ तारिखमा भएको हो। स्थानीय अधिकारी र दमकलकर्मीका अनुसार विमानमा पाँच जना सवार थिए।
उक्त विमान बाट दिउँसो १२:१६ बजे उडेको केही मिनेटमै सिल्वेरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। आपतकालीन सेवा टोलीलाई करिब १२:२५ बजे घटनास्थलमा बोलाइएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विमान कम उचाइमा उड्दै अग्ला भवनहरूबाट जोगिन प्रयास गरिरहेको देखिन्छ। त्यसपछि यो चार तले आवासीय भवनको तेस्रो र चौथो तलाबीचको सिँढी क्षेत्रमा ठोक्किएको थियो। भवनका बासिन्दाहरू भने सुरक्षित रहेको जनाइएको छ।
मृतकमध्ये पाइलट वेलिङ्टन ओलिभेरा (३४) र यात्रु फर्नान्डो मोरेइरा साउटो (३६) रहेका छन्। साउटो स्थानीय जेकिटिन्होन्याका मेयरका छोरा भएको बताइएको छ। अन्य तीन घाइतेलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो, जसमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरिएको छ।
प्रारम्भिक जानकारीअनुसार पाइलटले उडानका क्रममा समस्या आएको भन्दै हवाई नियन्त्रण कक्षलाई जानकारी दिएका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ। यसका लागि सेन्टर फर इन्भेस्टिगेसन एण्ड प्रिभेन्सन अफ एरोनोटिकल एक्सिडेन्ट्स तथा सेरिपा–३ का अधिकारीहरू घटनास्थलमा खटिएका छन्। साथै मिनास जेराइस नागरिक प्रहरीले पनि छुट्टै अनुसन्धान सुरु गरेको छ।
