ब्रसेल्स, २०८३ मंसिर ६ । बेल्जियममा सोमबार (नोभेम्बर २३) हुने राष्ट्रिय ट्रेड युनियन आन्दोलनमा हवाई ट्राफिक नियन्त्रणकर्मीसमेत सहभागी हुने भएपछि देशभरको हवाई सेवा गम्भीर रूपमा प्रभावित हुने भएको छ। बेल्जियमका प्रमुख विमानस्थलबाट हुने अधिकांश आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द हुने सम्भावना रहेको छ।
बेल्जियमको हवाई यातायात नियन्त्रण सेवा प्रदायक कम्पनी स्काइज (Skeyes) ले सोमबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म नियमित हवाई ट्राफिक नियन्त्रण सेवा सञ्चालन गर्न नसक्ने जनाएको छ। पर्याप्त कर्मचारी उपलब्ध नहुने भएकाले निर्धारित अवधिमा हवाई उडानको सुरक्षित व्यवस्थापन सुनिश्चित गर्न नसकिने कम्पनीको भनाइ छ।
स्काइजले आपत्कालीन तथा सुरक्षाका दृष्टिले अत्यावश्यक उडानका लागि भने न्यूनतम सेवा उपलब्ध गराइने जनाएको छ। तर नियमित यात्रुवाहक उडान सञ्चालन गर्न आवश्यक हवाई ट्राफिक नियन्त्रण सेवा उपलब्ध नहुने भएकाले विमानस्थलहरूको सञ्चालन प्रभावित हुनेछ।
बेल्जियमको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल ब्रसेल्स विमानस्थलले सोमबार हुने आगमन तथा प्रस्थान गर्ने अधिकांश उडान रद्द गर्नुपर्ने अवस्था आउने जनाएको छ। विमानस्थलले प्रभावित यात्रुहरूलाई सम्बन्धित वायुसेवा कम्पनीमार्फत उडानको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
त्यस्तै, ब्रसेल्स साउथ चार्लेरोइ विमानस्थलले पनि सोमबार बिहान ७ बजेदेखि राति ९ बजेसम्म कुनै पनि विमान उडान वा अवतरण गर्न नसक्ने जनाएको छ। यो विमानस्थल कम लागतका हवाई सेवा प्रदायक कम्पनी रायनएयरका लागि महत्त्वपूर्ण केन्द्र हो। चार्लेरोइ विमानस्थलका अनुसार यसबाट हजारौँ यात्रु तथा विमानस्थलमा कार्यरत करिब ३ हजार ४०० कर्मचारी प्रभावित हुनेछन्।
हडताल बेल्जियमका प्रमुख ट्रेड युनियनहरूले प्रधानमन्त्री बार्ट डे वेभर नेतृत्वको सरकारको आर्थिक तथा सामाजिक नीतिविरुद्ध आयोजना गरेको राष्ट्रिय आन्दोलनको हिस्सा हो। युनियनहरूले सरकारको खर्च कटौती, पेन्सन सुधार, सामाजिक सुरक्षा तथा श्रमिकको सेवा सुविधासम्बन्धी नीतिको विरोध गर्दै आएका छन्।
सरकारले आगामी वर्षहरूमा सरकारी घाटा घटाउन करिब १० अर्ब युरो बचत गर्ने लक्ष्यसहित विभिन्न आर्थिक सुधार तथा खर्च कटौतीका योजना अघि सारेको छ। ट्रेड युनियनहरूले यी नीतिले श्रमिक, पेन्सन प्राप्त गर्ने नागरिक तथा न्यून आय भएका परिवारमाथि आर्थिक भार बढाउने दाबी गरेका छन्।
सोमबार ब्रसेल्समा हजारौँ प्रदर्शनकारी सहभागी हुने अपेक्षा गरिएको छ। यस आन्दोलनका कारण हवाई सेवाबाहेक सार्वजनिक यातायात पनि प्रभावित हुने सम्भावना छ। ब्रसेल्सको मेट्रो, ट्राम तथा बस सेवा र फ्ल्यान्डर्स क्षेत्रका सार्वजनिक यातायातमा समेत अवरोध आउन सक्ने सम्बन्धित यातायात सञ्चालकहरूले जनाएका छन्।
यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो उडानको अवस्था सम्बन्धित वायुसेवा कम्पनीसँग पुष्टि गर्न आग्रह गरिएको छ। उडान रद्द भएका यात्रुहरूलाई पुनः टिकट व्यवस्थापन वा रकम फिर्तासम्बन्धी विकल्पबारे वायुसेवा कम्पनीहरूले जानकारी दिनेछन्।
स्रोत: एएफपी, अरेब न्युज, एरो टाइम, द ब्रसेल्स टाइम्स।
