फ्रान्समा महँगी र सार्वजनिक सेवाविरुद्ध लगातार छैटौँ सप्ताहान्त देशव्यापी प्रदर्शन

पेरिस, २०८३ मंसिर ६। फ्रान्समा बढ्दो महँगी, कमजोर बन्दै गएको सार्वजनिक सेवा र आर्थिक असमानताको विरोधमा लगातार छैटौँ सप्ताहान्त हजारौँ मानिस सडकमा उत्रिएका छन्। शनिबार (नोभेम्बर २१) पेरिससहित देशका विभिन्न सहरमा विद्यार्थी, मजदुर संगठन, वामपन्थी दल तथा पहेँलो ज्याकेट आन्दोलनका समर्थकहरूले प्रदर्शन गरेका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार प्रदर्शनकारीहरूले बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्न, न्यून आय भएका नागरिकको आर्थिक अवस्था सुधार गर्न, उचित पारिश्रमिक उपलब्ध गराउन र शिक्षा तथा सामाजिक सुरक्षाजस्ता सार्वजनिक सेवा प्रभावकारी बनाउन माग गरेका छन्।

फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार देशभर भएका प्रदर्शनमा करिब ८२ हजार ५०० जना सहभागी भएका थिए। राजधानी पेरिसमा मात्रै २१ हजार ५०० जनाले प्रदर्शन गरेका थिए। तर आयोजकहरूले भने देशभर एक लाख ५० हजार र पेरिसमा ४५ हजार मानिस सहभागी भएको दाबी गरेका छन्।

प्रदर्शनमा सहभागी हुनेको संख्या अघिल्लो साताको तुलनामा घटेको छ। नोभेम्बर १४ मा भएको प्रदर्शनमा सरकारी तथ्यांकअनुसार एक लाख ६ हजार र आयोजकहरूका अनुसार दुई लाख मानिस सहभागी भएका थिए।

पेरिसको प्लास द ला रिपुब्लिकबाट सुरु भएको जुलुस प्लास द ला नासियोँतर्फ अघि बढेको थियो। प्रदर्शनकारीहरूले शिक्षा, सामाजिक सुरक्षा र स्वास्थ्य सेवाको कमजोर अवस्थाप्रति ध्यानाकर्षण गराउन प्रतीकात्मक चिहानसमेत प्रदर्शन गरेका थिए। केही पोस्टरमा ‘बाँच्न चाहन्छौँ, केवल गुजारा गर्न होइन’ भन्ने सन्देश लेखिएको थियो।

यो आन्दोलन गत सेप्टेम्बरको मध्यतिर विद्यालयका भौतिक संरचनाको सुधार, शिक्षकको संख्या वृद्धि र विद्यार्थीको शैक्षिक अवस्थालाई सम्बोधन गर्न माग गर्दै माध्यमिक तहका विद्यार्थीहरूले सुरु गरेका थिए। पछि यसमा श्रमिक संगठन, विद्यार्थी समूह र विभिन्न राजनीतिक धारका समर्थकहरू जोडिँदै गएपछि आन्दोलन महँगी, आर्थिक असमानता, सार्वजनिक सेवाको अवस्था र प्रहरीको व्यवहारविरुद्धको व्यापक अभियानमा परिणत भएको हो।

प्रदर्शनका क्रममा केही सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ। लियोँ र मार्सेईमा प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गर्न खोज्ने समूहलाई प्रहरीले अश्रुग्यास प्रयोग गरेर तितरबितर पारेको थियो। फ्रान्सेली अधिकारीहरूका अनुसार शनिबार साँझसम्म १४४ जना पक्राउ परेका थिए।

प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले देशभर करिब ७० हजार प्रहरी तथा सुरक्षा अधिकारी परिचालन गरेको थियो। अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि केही स्थानमा सवारीसाधन र फोहोरका कन्टेनरमा आगजनी तथा प्रहरीसँग झडपका घटना भएका छन्।

यसैबीच, नोभेम्बर २१ को प्रदर्शन सन् २०१८ मा सुरु भएको पहेँलो ज्याकेट आन्दोलनको आठौँ वार्षिकोत्सवसँग पनि जोडिएको थियो। उक्त आन्दोलन सुरुमा इन्धनमा बढाइएको करको विरोधमा सुरु भएको थियो र पछि जीवनयापन खर्च तथा आर्थिक असमानताविरुद्धको राष्ट्रिय आन्दोलन बनेको थियो।

स्रोत: एएफपी, रोयटर्स, अल जजिरा, युरोन्युज

Scroll to Top