रौतहटको गौर सीमा क्षेत्रमा बेवारिसे अवस्थामा २७ थान गोली बरामद

रौतहट, २ मंसिर २०८३। रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा ९ एमएमका २७ थान गोली फेला परेका छन्। सशस्त्र प्रहरी बल र भन्सार सुरक्षा गार्डको संयुक्त गस्ती टोलीले मंगलबार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा ती गोली बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र गौर भन्सार सुरक्षा गार्डबाट खटिएको संयुक्त टोलीले गस्तीका क्रममा सेतो प्लास्टिकको झोलाभित्र राखिएका गोली फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार बरामद गोली ९ एमएमका राउन्डजस्ता देखिएका छन्। ती गोली सीमा क्षेत्रको एक स्थानमा कसैले छाडेको अवस्थामा फेला परेका हुन्।

गोली कसले, कुन प्रयोजनका लागि र कसरी त्यहाँ पुर्‍याएको हो भन्ने विषयमा खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सुरक्षा निकायले जनाएको छ।

Scroll to Top