काठमाडौं, २०८३ कात्तिक ३०। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले छुट्टाछुट्टै घटनामा ठूलो परिमाणको सेतो हेरोइनसहित एक भारतीय नागरिक र सुनजस्तो देखिने ६३५.९६ ग्राम पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले भारतीय नागरिकको साथबाट करिब २२ करोड रुपैयाँ बजार मूल्य बराबरको साढे पाँच किलो सेतो हेरोइन बरामद गरेको छ भने चिनियाँ नागरिकको साथबाट आधा किलोभन्दा बढी पहेँलो अर्धठोस पदार्थ फेला पारेको हो।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्ने भारतीय नागरिक भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवराज टिघारे हुन्। उनी थाइल्यान्डबाट हवाई मार्ग हुँदै काठमाडौं आएका थिए। विमानस्थलमा शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा प्रहरीले उनको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाइएको अवस्थामा पाँच किलो पाँच सय ग्राम सेतो हेरोइन फेला पारेको थियो।
प्रहरीका अनुसार बरामद हेरोइनको नेपाली अवैध बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ पर्छ। प्रारम्भिक अनुसन्धानमा टिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालसँग जोडिएको खुलेको प्रहरीले जनाएको छ। उनको यसअघि लाओसबाट काठमाडौं हुँदै भारत गएको यात्रा विवरणसमेत भेटिएको छ। प्रहरीले उनको साथबाट मेकानिकल इन्जिनियरिङसम्बन्धी प्रमाणपत्र, पासपोर्ट र मोबाइलसमेत बरामद गरेको जनाएको छ।
यसैगरी, विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा चीनको ग्वाङडोङ प्रान्तका ४२ वर्षीय झाङ गुओकिङ रहेका छन्। उनी कात्तिक २९ गते बिहान करिब १०ः३० बजे हङकङबाट क्याथे प्यासिफिक एयरको उडानमार्फत काठमाडौं आएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइएका दुईवटा पहेँलो अर्धठोस टुक्रा फेला परेका थिए। ती पदार्थको कुल तौल ६३५.९६ ग्राम रहेको प्रहरीले जनाएको छ। भन्सार छली गरी उक्त पदार्थ लुकाएर ल्याएको आशंकामा उनलाई नियन्त्रणमा लिइएको हो।
विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार बरामद पदार्थ सुनजस्तो देखिए पनि त्यसको परीक्षण तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। दुवै घटनामा पक्राउ परेका विदेशी नागरिकमाथि प्रहरीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको जनाएको छ।
