स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्छ : कुलमान घिसिङ

सप्तरी, २०८३ कात्तिक ३०। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय प्रणालीबाट हुनुपर्ने धारणा पुनः व्यक्त गरेका छन्। सोमबार सप्तरीको सुरुङ्गा नगरपालिका–७ बसानपट्टीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारलाई राजनीतिक दलको स्वार्थभन्दा माथि राखेर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित गर्नुपर्ने बताएका हुन्।

घिसिङका अनुसार स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूबीच हुने प्रतिस्पर्धाका कारण स्थानीय मुद्दाहरू ओझेलमा पर्ने गरेका छन्। दलीय प्रतिस्पर्धाले समाजमा राजनीतिक ध्रुवीकरण बढाउने, निर्वाचन खर्च अनावश्यक रूपमा वृद्धि गर्ने तथा आर्थिक चलखेललाई प्रोत्साहन गर्ने उनको भनाइ छ। त्यसैले स्थानीय तहमा नेतृत्व चयन गर्दा राजनीतिक दलको प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता र विगतको कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

उनले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसमक्ष यसअघि नै ज्ञापनपत्र बुझाइसकेको जानकारी दिए। स्थानीय जनप्रतिनिधि राजनीतिक दलप्रति नभई प्रत्यक्ष रूपमा जनताप्रति जवाफदेही हुनुपर्ने उनको जोड छ।

घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचनका बेला स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको स्मरण गराए। तर, झन्डै दुई तिहाइ बहुमतसहित सरकारमा पुगेपछि पनि यी विषयमा ठोस पहल हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

उनले स्थानीय निर्वाचन गैरदलीय बनाउन आवश्यक कानुन संशोधन र नियमावली निर्माण गरी आगामी निर्वाचनअघि नै व्यवस्था कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। विदेशमा रहेका नेपाली नागरिकलाई पनि आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।

यसअघि पनि घिसिङले गैरदलीय निर्वाचन प्रणाली लागू नभए पनि आफ्नो पार्टी निर्वाचनबाट पछि नहट्ने स्पष्ट पारिसकेका छन्। उज्यालो नेपाल पार्टीले स्थानीय निर्वाचनमा राम्रो विगत भएका, सक्षम र जनताका लागि काम गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने उनको भनाइ छ। त्यस्ता उम्मेदवार पार्टीभित्रका वा बाहिरका जोसुकै हुन सक्ने उनले बताएका छन्।

Scroll to Top