अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित नयाँ शान्ति सम्झौताको अन्तिम तयारी भइरहेका बेला इजरायलमा त्यसको तीव्र प्रतिक्रिया देखिएको छ। धेरै इजरायली राजनीतिज्ञ, सुरक्षा विश्लेषक र सर्वसाधारणले यो सम्झौताले इजरायलका मुख्य सुरक्षा चासोलाई बेवास्ता गरेको भन्दै चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको मध्यस्थतामा वासिङ्टन र तेहरानबीच युद्धविराम तथा शान्ति सम्झौतामा सहमति भएको घोषणा गरेका छन्। जेनेभामा जुन १९ मा हस्ताक्षर हुने अपेक्षा गरिएको उक्त सम्झौतामा दुवै पक्षले तत्काल र स्थायी रूपमा शत्रुता अन्त्य गर्ने, इरानमाथिको नाकाबन्दी हटाउने, अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा इरानको करिब १२ अर्ब डलर बराबरको रोक्का सम्पत्तिको आधा भाग फुकुवा गर्ने उल्लेख गरिएको छ।
यसको बदलामा इरानले आणविक हतियार अप्रसार सन्धिप्रति पुनः प्रतिबद्धता जनाउने, आणविक हतियार विकास नगर्ने तथा ३० दिनभित्र होर्मुज जलडमरूमध्यलाई व्यावसायिक जहाज आवागमनका लागि खुला गर्ने सहमति जनाएको बताइएको छ।
तर इजरायलमा भने यो सम्झौतालाई शान्तिको सुरुवातभन्दा पनि भविष्यको जोखिमको रूपमा हेरिएको छ। विपक्षी नेता याइर लापिडले सम्झौताले इजरायलका कुनै पनि रणनीतिक उद्देश्य पूरा नगरेको बताएका छन्। उनका अनुसार इरानको वर्तमान शासन यथावत् रहने, मिसाइल कार्यक्रम कायम रहने र भविष्यमा आणविक कार्यक्रम पुनर्निर्माण गर्ने सम्भावना जीवित रहने भएकाले यो सम्झौता इजरायलका लागि असफलता हो।
अर्का विपक्षी नेता याइर गोलानले पनि सम्झौताप्रति कडा आलोचना गर्दै यसले इरानलाई अरबौं डलर उपलब्ध गराउने, आणविक पूर्वाधार सुरक्षित राख्ने र ब्यालिस्टिक मिसाइलको खतरा जस्ताको तस्तै छोड्ने बताएका छन्। उनका अनुसार यसले तेहरान सरकारलाई नयाँ जीवन दिने काम गर्नेछ।
राजनीतिक नेतृत्वमात्र होइन, सर्वसाधारण इजरायलीहरूमा पनि निराशा देखिएको छ। तेल अभिभकी ३७ वर्षीया मोर कोहेनले यो सम्झौताले महत्वपूर्ण अवसर गुमाएको बताएकी छन्। उनका अनुसार इजरायलका लागि महत्वपूर्ण मानिएका सबै विषयहरू समाधानबाहिर राखिएकाले भविष्यमा अर्को युद्धको सम्भावना झन् बढेको छ।
युद्धअघि इरानसँग करिब तीन हजार मिसाइल रहेको अनुमान गरिएको थियो। युद्धका क्रममा त्यसको संख्या घटे पनि अझै करिब पन्ध्र सय मिसाइल बाँकी रहेको र तीमध्ये धेरै लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षमताका रहेको विश्लेषकहरूको भनाइ छ। यही कारण इजरायलमा इरानको सैन्य शक्ति अझै ठूलो चुनौतीका रूपमा हेरिएको छ।
यसैगरी, इजरायलले अमेरिकाबाट इरानको आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य हुने स्पष्ट ग्यारेन्टी पनि पाएको छैन। लेबनानस्थित हिजबुल्लाह र यमनका हुथी विद्रोहीजस्ता इरान समर्थित समूहहरूबारे पनि सम्झौतामा ठोस व्यवस्था नभएको भन्दै आलोचना भइरहेको छ।
हाइफाका ५६ वर्षीय माओर अटियासले धेरै इजरायलीको भावना व्यक्त गर्दै भनेका छन्, “हामीलाई लाग्छ ट्रम्पले हामीलाई बेचिदिए। अमेरिकाले मध्यपूर्वलाई कहिल्यै राम्ररी बुझेन। उनीहरू आफ्नो राजनीतिक र रणनीतिक स्वार्थ हेर्छन्, इजरायल उनीहरूको प्राथमिकताको सूचीमा सधैं पहिलो स्थानमा हुँदैन।”
यद्यपि सबै इजरायली यो सम्झौताविरुद्ध छैनन्। केहीले युद्धको अन्त्यलाई सबैभन्दा ठूलो उपलब्धि मानेका छन्। तीन सन्तानकी आमा लिलाख काल्डेरोनले इरानसँगको युद्धले सामान्य परिवारमा गहिरो मानसिक असर पारेको बताइन्। उनका श्रीमान् रिजर्भ सैनिक भएकाले लामो समयसम्म परिवार तनावमा बसेको र सम्झौताको खबरले राहत महसुस भएको उनले बताइन्।
सुरक्षा विश्लेषक अमिर ओरेनले पनि इजरायलले लामो समयसम्म एक्लै इरान वा हिजबुल्लाहविरुद्ध युद्ध धान्न नसक्ने बताएका छन्। उनका अनुसार इरानमा शासन परिवर्तन सम्भव देखिएको छैन र सैन्य कारबाहीबाट आणविक तथा मिसाइल पूर्वाधार पूर्ण रूपमा नष्ट गर्न सकिने सम्भावना पनि न्यून छ। साथै, अमेरिकाको निरन्तर समर्थनको सुनिश्चितता नरहेकाले इजरायलका लागि दीर्घकालीन युद्ध महँगो र अस्थिर बन्न सक्छ।
यसबीच इजरायली रक्षा मन्त्री इजरायल काट्जले भने देशको सुरक्षा हितमा कुनै सम्झौता नगर्ने चेतावनी दिएका छन्। यदि इरानले भविष्यमा हिजबुल्लाहसँग सम्बन्धित कुनै घटनाका कारण इजरायलमाथि आक्रमण गरे पूर्ण शक्तिका साथ जवाफ दिने उनले बताएका छन्।
जेनेभामा हुने भनिएको हस्ताक्षर समारोह नजिकिँदै जाँदा यो सम्झौताले एउटा युद्ध रोक्न सफल भए पनि यसले स्थायी शान्ति ल्याउने कि केवल अर्को द्वन्द्वलाई केही समयका लागि टार्ने भन्ने प्रश्न अझै अनुत्तरित छ। इजरायलभित्र भने सम्झौतामाथिको बहस अब मात्र सुरु भएको छ र यसको प्रभाव आगामी वर्षहरूमा मध्यपूर्वको राजनीति तथा सुरक्षा समीकरणमा स्पष्ट देखिन सक्ने विश्लेषण गरिएको छ।
