काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ–संस्था र संगठनका कार्यालय हटाउन निर्देशन दिएको छ।
प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएका प्राविधिक तथा पेशागत संघ–संस्थाले सरकारी भवनभित्र कार्यालय सञ्चालन गरिरहेको पाइएकाले सात दिनभित्र त्यस्ता कार्यालय अन्यत्र सार्न निर्देशन दिएको हो।
सूचनाअनुसार सरकारी कार्यालय र सार्वजनिक निकायलाई पनि आफ्नो परिसरमा रहेका यस्ता संघ–संस्थाका साइनबोर्ड, कार्यालय तथा अन्य संरचना हटाई ओगटिएको स्थान खाली गराउन भनिएको छ। प्रशासनले सरकारी सम्पत्ति र संरचना सार्वजनिक प्रयोजनका लागि मात्र प्रयोग हुनुपर्ने भएकाले निजी वा गैरसरकारी संस्थालाई सरकारी भवनभित्र कार्यालय सञ्चालन गर्न नदिने नीति अनुरूप यो निर्णय गरिएको जनाएको छ।
प्रशासनले तोकिएको समयभित्र कार्यालय नहटाए वा निर्देशनको बेवास्ता गरे कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ। साथै, सरकारी कार्यालयहरूलाई आफ्नो परिसरको अनुगमन गरी नियमविपरीत सञ्चालन भइरहेका संघ–संस्थाका गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ।
यस निर्णयपछि लामो समयदेखि सरकारी भवनभित्र कार्यालय सञ्चालन गर्दै आएका विभिन्न प्राविधिक, पेशागत तथा गैरसरकारी संस्थाहरू प्रभावित हुने देखिएको छ। सरकारी संरचनाको उपयोग र व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रशासनले यो कदम चालेको बताइएको छ।
