प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण २५ घण्टामा सीमित, २ अर्ब डलर आर्थिक सहायता र हवाई मार्ग मुख्य एजेन्डा

काठमाडौं, २०८३ मंसिर २ । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बर २२ र २३ (मंसिर ७ र ८) मा भारतको राजकीय भ्रमण गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको उनको पहिलो द्विपक्षीय भारत भ्रमण सुरुमा तीन दिनका लागि तय भए पनि पछिल्लो तयारीअनुसार करिब २५ घण्टामा सीमित गरिएको छ। भ्रमणका क्रममा आर्थिक सहयोग, हवाई सम्पर्क विस्तार, ऊर्जा सहकार्य र रोकिएका विकास आयोजनाबारे छलफल हुने अपेक्षा गरिएको छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नोभेम्बर २३ मा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सुरुमा दुई नेताबीच करिब ३० मिनेट एक्लाएक्लै छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने तयारी छ। उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्ने तथा विदेशमन्त्री एस जयशंकरसँग छलफल गर्ने कार्यक्रम रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।

भ्रमणको प्रमुख एजेन्डामध्ये भारतसँग करिब २ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्राप्त गर्ने विषय रहेको छ। नेपालले बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण तथा विकास आयोजनाका लागि एक अर्ब डलर सहुलियतपूर्ण ऋण, ५० करोड डलर अनुदान र थप ५० करोड डलर पुनर्निर्माण सहयोगका रूपमा प्रस्ताव गरेको छ। उक्त आर्थिक प्याकेजबारे दुवै देशबीच छलफल हुने अपेक्षा गरिएको छ।

त्यस्तै, नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि भारतीय हवाई क्षेत्रबाट थप प्रवेश मार्ग उपलब्ध गराउने विषय पनि महत्त्वपूर्ण एजेन्डा बनेको छ। विशेषगरी महेन्द्रनगर, भैरहवा, नेपालगन्ज र जनकपुर क्षेत्रबाट अन्तर्राष्ट्रिय उडानका लागि हवाई प्रवेश मार्ग उपलब्ध गराउन नेपालले भारतसँग आग्रह गर्दै आएको छ। यस विषयमा केही प्राविधिक सहमति हुन सक्ने नेपाली अधिकारीहरूलाई उद्धृत गर्दै काठमाडौँ पोस्टले जनाएको छ।

भ्रमणका क्रममा भारतको सहयोगमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन आयोजनासम्बन्धी घोषणा र समझदारी पनि हुन सक्नेछन्। पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान, दार्चुलाको पुल र भैरहवास्थित एकीकृत जाँच चौकी उद्घाटन गर्ने तयारी छ। त्यस्तै, दोधारा चाँदनीस्थित एकीकृत जाँच चौकी, तल्लो अरुण जलविद्युत् आयोजना र भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी विषय पनि छलफलमा रहनेछन्।

नेपाल र भारतबीच लामो समयदेखि विवादमा रहेका सीमा समस्या, व्यापार घाटा, पारवहन व्यवस्था, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना तथा भारतीय सेनामा नेपाली गोर्खा सैनिकको भर्तीसम्बन्धी विषयमा भने यस भ्रमणबाट ठोस समाधान निस्कने सम्भावना कम रहेको समाचारमा उल्लेख छ।

प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतका अन्य सहर जाने प्रस्ताव स्वीकार नगरी आफ्नो कार्यक्रम नयाँदिल्लीमा मात्र सीमित राखेको बताइएको छ। भ्रमण छोट्याउनुको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपाल र भारतबीचको उच्चस्तरीय कूटनीतिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई नयाँ गति दिने अवसरका रूपमा हेरिएको छ। विशेषगरी आर्थिक सहायता, अन्तर्राष्ट्रिय हवाई मार्ग र ऊर्जा पूर्वाधारका विषयमा हुने सहमतिले आगामी द्विपक्षीय सम्बन्धको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

Scroll to Top