किभ, २०८३ मंसिर १। युक्रेन र रुसबीच जारी सैन्य द्वन्द्वले युक्रेनको ऊर्जा पूर्वाधारमा निरन्तर क्षति पुर्याउनुका साथै युरोपेली देशहरूको ऊर्जा सुरक्षा, इन्धन आपूर्ति र औद्योगिक आपूर्ति शृङ्खलामा समेत दबाब सिर्जना गरेको छ। सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता ऊर्जा पूर्वाधार युद्धको प्रमुख निशानामध्ये एक बन्दै आएको छ। आगामी हिउँदलाई ध्यानमा राख्दै युरोपेली देशहरू ऊर्जा आपूर्तिको निरन्तरता सुनिश्चित गर्ने प्रयासमा जुटेका छन्।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले नोभेम्बर ४ मा सार्वजनिक गरेको पछिल्लो मूल्याङ्कनअनुसार रुसले युक्रेनका विद्युत् उत्पादन केन्द्र, प्रसारण सञ्जाल, ग्यास पूर्वाधार र तेलसम्बन्धी संरचनामा आक्रमण तीव्र बनाएको छ। विशेषगरी नयाँ प्रविधिका तीव्र गतिका ड्रोन प्रयोग हुन थालेपछि ऊर्जा पूर्वाधारको सुरक्षामा थप चुनौती देखिएको छ। गत वर्षको हिउँदमा विद्युत् केन्द्र र प्रसारण सञ्जालमा भएको क्षतिका कारण युक्रेनका विभिन्न क्षेत्रमा लामो समयसम्म विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
आईईएका अनुसार युक्रेनले आगामी हिउँदका लागि ऊर्जा प्रणालीलाई बलियो बनाउन पछिल्लो एक वर्षमा करिब ४०० मेगावाट क्षमताका विकेन्द्रीकृत ग्यासमा आधारित विद्युत् उत्पादन केन्द्र थपेको छ। साथै, ब्याट्री भण्डारण क्षमता, नवीकरणीय ऊर्जा र रणनीतिक उपकरण भण्डार विस्तार गरिएको छ। यद्यपि, निरन्तरका आक्रमण र मर्मतका लागि आवश्यक उपकरणको अभावका कारण आगामी हिउँदमा पनि विद्युत् अभाव हुन सक्ने चेतावनी दिइएको छ।
युद्धले युरोपको प्राकृतिक ग्यास आपूर्ति प्रणालीमा पनि दीर्घकालीन परिवर्तन ल्याएको छ। युरोपेली संघले रुसमाथिको ऊर्जा निर्भरता घटाउँदै नर्वे, अमेरिका र अन्य देशबाट प्राकृतिक ग्यास तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयात बढाएको छ। युरोपेली आयोगका अनुसार युरोपेली संघको कुल ग्यास आयातमा रुसी ग्यासको हिस्सा सन् २०२१ को ४५ प्रतिशतबाट घटेर सन् २०२५ मा १२ प्रतिशतमा झरेको थियो। युक्रेन हुँदै युरोपमा रुसी ग्यास पठाउने सम्झौता पनि सन् २०२४ डिसेम्बर ३१ मा समाप्त भएको थियो।
तर रुसबाट आयात घटाउँदैमा युरोपको ऊर्जा चुनौती समाप्त भएको छैन। युरोपेली ऊर्जा नियामक निकाय एसीईआरको सन् २०२६ को प्रतिवेदनअनुसार युरोपेली संघले सन् २०२५ मा आयात गरेको कुल एलएनजीमध्ये १४ प्रतिशत रुसबाट आएको थियो। सन् २०२७ सम्म रुसी प्राकृतिक ग्यास आयात पूर्ण रूपमा बन्द गर्ने युरोपेली संघको योजना छ। यसैबीच, अन्तर्राष्ट्रिय बजारमा एलएनजीका लागि बढ्दो प्रतिस्पर्धा र आपूर्ति मार्गमा देखिने अवरोधले ऊर्जा मूल्यमा उतारचढावको जोखिम बढाएको छ।
युद्धको प्रभाव तेल प्रशोधन र इन्धन आपूर्तिमा पनि देखिएको छ। युक्रेनले रुसी तेल प्रशोधन केन्द्रहरूलाई लक्षित गरी ड्रोन आक्रमण बढाएपछि रुसको इन्धन उत्पादन प्रभावित भएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सेप्टेम्बर १७ मा सार्वजनिक गरेको विश्लेषणअनुसार सन् २०२६ जुनमा रुसको तेल प्रशोधन क्षमता दैनिक ३८ लाख ब्यारेलमा झरेको थियो, जुन दुई दशकभन्दा बढी अवधिकै न्यून स्तर हो। पेट्रोल र डिजेल उत्पादनमा आएको गिरावटका कारण रुसले आन्तरिक बजारमा इन्धन उपलब्धता कायम राख्न निर्यातमा समेत प्रतिबन्ध लगाएको थियो।
यसको प्रभाव युरोपको औद्योगिक आपूर्ति शृङ्खलामा पनि पर्न सक्छ। ऊर्जा मूल्यमा हुने वृद्धि र इन्धन ढुवानीमा अवरोधले उत्पादन लागत, यातायात खर्च तथा रासायनिक मल, धातु र अन्य औद्योगिक कच्चा पदार्थको मूल्य प्रभावित गर्न सक्छ। विशेषगरी ऊर्जा आयातमा निर्भर उद्योगहरूका लागि आपूर्तिको स्थिरता र प्रतिस्पर्धात्मक लागत कायम राख्नु चुनौतीपूर्ण बनेको छ।
यसैबीच, नोभेम्बर १६ मा युक्रेनले रुसका विभिन्न क्षेत्रमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको रुसी रक्षा मन्त्रालयको दाबीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। रुसी पक्षका अनुसार १६ क्षेत्रमा १ हजार ३३६ ड्रोन खसालिएका थिए। आक्रमणका क्रममा रोस्तोभ क्षेत्रका औद्योगिक प्रतिष्ठान र तेल प्रशोधन केन्द्र रहेको इल्स्की क्षेत्रमा आगलागी भएको बताइएको छ। यस्ता आक्रमणले दुवै देशको ऊर्जा उत्पादन र इन्धन आपूर्ति पूर्वाधारमा सुरक्षा जोखिम थपिरहेका छन्।
युरोपेली देशहरू अहिले वैकल्पिक ऊर्जा स्रोत, एलएनजी आयात, नवीकरणीय ऊर्जा उत्पादन र सीमापार विद्युत् प्रसारण सञ्जाल विस्तारमा केन्द्रित छन्। तर युद्ध लम्बिँदै जाँदा ऊर्जा पूर्वाधारमाथिका आक्रमण, विश्व बजारमा इन्धनको प्रतिस्पर्धा र आपूर्ति मार्गको अस्थिरताले युरोपको आर्थिक तथा औद्योगिक सुरक्षामा थप दबाब सिर्जना गर्ने जोखिम कायम छ।
स्रोत: अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए), युरोपेली आयोग, युरोपेली ऊर्जा नियामक निकाय (एसीईआर), रोयटर्स ।
