युक्रेन शान्ति वार्तामा रुसको प्रस्ताव : फिनल्यान्डलाई नेटोबाट बाहिर निकाल्नुपर्ने माग

हेलसिन्की, २९ कात्तिक । युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भएको वार्ताका क्रममा रुसले फिनल्यान्डलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बाट बाहिरिनुपर्ने प्रस्ताव अघि सारेको जर्मन सञ्चारमाध्यम बिल्डले जनाएको छ। रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्ने प्रस्तावसँगै युरोपको समग्र सुरक्षा संरचनामा परिवर्तन गर्नुपर्ने मागसमेत राखेको बताइएको छ।

बिल्डका अनुसार रुसी प्रतिनिधिहरूले अबुधाबीमा युरोपेली प्रतिनिधिहरूसँग भएका अनौपचारिक छलफलमा यस्तो प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमा फिनल्यान्डले नेटो सदस्यता त्याग्नुपर्ने, इस्टोनिया, लाट्भिया र लिथुआनियामा नेटोका सैन्य अखडा स्थापना गर्न नपाइने तथा युक्रेनले भविष्यमा कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुन नपाउने व्यवस्था समावेश रहेको बताइएको छ।

यस प्रस्तावले युक्रेनको भूभागसम्बन्धी विवाद मात्र नभई शीतयुद्धपछि विकसित युरोपेली सुरक्षा व्यवस्थामै परिवर्तन ल्याउने रुसको चाहना देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

बिल्डका अनुसार रुसले हाल आफ्नो नियन्त्रणमा रहेका युक्रेनी भूभाग कायम राख्न र डोनबास क्षेत्रको सम्पूर्ण भूभाग आफ्नो नियन्त्रणमा ल्याउनुपर्ने माग गरेको छ। यसअन्तर्गत युक्रेनको नियन्त्रणमा रहेका दोनेत्स्क र लुहान्स्क क्षेत्रका बाँकी भूभागसमेत रुसलाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव रहेको बताइएको छ।

त्यस्तै, युक्रेनका ओडेसा र माइकोलाइभ बन्दरगाहलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नपाइने गरी निशस्त्रीकरण गर्नुपर्ने प्रस्ताव पनि अघि सारिएको छ। युक्रेनले नेटो सदस्यता लिने सम्भावना पूर्ण रूपमा त्याग्नुपर्ने भए पनि युरोपेली संघ (ईयू) को सदस्य बन्ने बाटो भने खुला राख्न सकिने प्रस्तावमा उल्लेख रहेको बताइएको छ। रुसको यस्तो प्रस्ताव सार्वजनिक भएपछि फिनल्यान्डले आफ्नो नेटो सदस्यता कुनै पनि अन्तर्राष्ट्रिय वार्ताको विषय हुन नसक्ने स्पष्ट पारेको छ।

फिनल्यान्डका रक्षामन्त्री एन्टी ह्याकानेनले रुसले लामो समयदेखि युरोपेली सुरक्षा व्यवस्थालाई आफ्नो अनुकूल बनाउन खोजिरहेको बताएका छन्। उनका अनुसार नेटो सदस्य राष्ट्रहरूले रुसको हितअनुसार आफ्नै सुरक्षा व्यवस्थामा प्रतिबन्ध लगाउनुपर्ने भन्ने प्रस्ताव स्वीकार्य छैन।

फिनल्यान्डको राष्ट्रिय सुरक्षा र सैन्य गठबन्धनमा रहने वा नरहने निर्णय गर्ने अधिकार फिनल्यान्ड स्वयंको भएको उनको भनाइ छ। उनले यस्ता विषयमा रुससँग कुनै सम्झौता गर्न नसकिने स्पष्ट पारेका छन्।

फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले भने आफूलाई यस्तो रुसी प्रस्तावबारे जानकारी नभएको बताएका छन्। विदेशमन्त्री एलिना भाल्टोनेनले पनि नेटो सदस्यतासम्बन्धी निर्णय फिनल्यान्ड र गठबन्धनका सदस्यहरूको विषय भएको बताएकी छन्।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले फिनल्यान्डलाई नेटोबाट बाहिर निकाल्ने प्रस्ताव रुसले राखेको भन्ने समाचार अस्वीकार गरेका छन्।

नोभेम्बर १३ मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पेस्कोभले आफूलाई त्यस्तो मागबारे जानकारी नभएको र यस विषयमा कुनै छलफल नभएको बताएका थिए। रुसी पक्षको यो भनाइले बिल्डमा प्रकाशित समाचार र क्रेमलिनको आधिकारिक धारणाबीच विरोधाभास देखाएको छ। यद्यपि, रुसले नेटोको पूर्वतर्फ विस्तार रोक्नुपर्ने र युरोपमा नेटोको सैन्य उपस्थितिमा प्रतिबन्ध लगाउनुपर्ने माग भने यसअघि पनि उठाउँदै आएको छ।

रुसको पछिल्लो प्रस्तावलाई सन् २०२१ मा मस्कोले अघि सारेका सुरक्षा मागसँग पनि जोडेर हेरिएको छ। त्यसबेला रुसले नेटोको विस्तार रोक्नुपर्ने र पूर्वी युरोपमा नेटोको सैन्य उपस्थिति सन् १९९७ अघिको अवस्थामा फर्काउनुपर्ने माग गरेको थियो।

फिनल्यान्डले सन् २०२२ मा युक्रेनमाथि रुसले पूर्णस्तरको आक्रमण सुरु गरेपछि आफ्नो दशकौँ लामो सैन्य असंलग्नताको नीति परिवर्तन गर्दै नेटो सदस्यताका लागि आवेदन दिएको थियो। अन्ततः सन् २०२३ अप्रिल ४ मा फिनल्यान्ड औपचारिक रूपमा नेटोको ३१औँ सदस्य बनेको थियो।

करिब १३०० किलोमिटर लामो सीमा रुससँग जोडिएको फिनल्यान्डको नेटो सदस्यतालाई युरोपेली सुरक्षा व्यवस्थामा महत्त्वपूर्ण परिवर्तनका रूपमा लिइन्छ।

यसैबीच, युरोपेली संघकी विदेश मामिला प्रमुख काजा कलासले युक्रेन युद्ध अन्त्य गर्ने वार्तालाई युरोपको सुरक्षा संरचना परिवर्तन गर्ने विषयतर्फ मोड्न नहुने बताएकी छन्। उनका अनुसार रुसले युक्रेनमाथिको आक्रमणको मूल विषयबाट ध्यान अन्यत्र मोड्न खोजिरहेको छ।

अबुधाबीमा भएको वार्तामा प्रस्तुत भनिएको रुसी प्रस्ताव औपचारिक रूपमा स्वीकृत भएको वा राष्ट्रपति पुटिनले त्यसलाई अन्तिम रूपमा समर्थन गरेको पुष्टि भएको छैन। त्यसैले फिनल्यान्डको नेटो सदस्यता अन्त्य गर्ने मागलाई हालसम्म सार्वजनिक भएको अनौपचारिक प्रस्तावका रूपमा बुझ्नुपर्ने देखिन्छ।

स्रोत: बीबीसी, वाइले, बिल्ड, अनादोलु समाचार संस्था, हेलसिन्की टाइम्स, भेर्कोउटिसेट, रोयटर्स।

Scroll to Top