
कान्सास सिटी — अर्जेन्टिनाका कप्तान मेस्सीले २०२६ फिफा विश्वकपको पहिलो खेलमै ऐतिहासिक प्रदर्शन गरेका छन्। अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गर्दै उनले एकै खेलमा विश्व फुटबलका धेरै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
३८ वर्षीय मेस्सी विश्वकपको इतिहासमा ६ संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन्। उनले सन् २००६ मा पहिलोपटक विश्वकप खेलेका थिए भने त्यसयता २०१०, २०१४, २०१८, २०२२ र अहिले २०२६ संस्करणमा पनि मैदान उत्रिएका छन्।
कान्सास सिटीमा भएको खेलमा मेस्सीले १७औँ मिनेटमा शानदार लामो दूरीको प्रहारबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि उनले दोस्रो र तेस्रो गोल गर्दै आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गरे। उनको उत्कृष्ट प्रदर्शनको मद्दतले साविक विजेता अर्जेन्टिनाले प्रतियोगिताको सुरुआत सहज जितसँगै गरेको हो।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याएका छन्। यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर क्लोस को विश्वकपमा सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका छन्। अब आगामी खेलमा गोल गर्न सके मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन्।
यस खेलले मेस्सीका लागि अर्को महत्वपूर्ण उपलब्धि पनि थप्यो। अल्जेरियाविरुद्धको खेल उनको अर्जेन्टिनाका लागि २००औँ अन्तर्राष्ट्रिय खेल थियो। करिब दुई दशकअघि सन् २००६ मा विश्वकप यात्रा सुरु गरेका मेस्सीले ठीक २० वर्षपछि विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा नयाँ इतिहास रच्न सफल भएका छन्।
विश्वकप जितिसकेका, आठ पटकको बालोन डी’ओर विजेता र अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता मेस्सीले आफ्नो अन्तिम विश्वकप मानिएको यस प्रतियोगितामा फेरि एकपटक आफू किन विश्व फुटबलका महानतम खेलाडीमध्ये एक हुन् भन्ने प्रमाणित गरेका छन्।
