२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतका केही वरिष्ठ न्यायाधीशहरूले तत्काल राजीनामा नदिने निर्णय गरेका छन्। संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि असन्तुष्टि देखिए पनि उनीहरू नियमित रूपमा अदालतको काममा सक्रिय रहने निष्कर्षमा पुगेका हुन्।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीश कुमार रेग्मी र हरि फुयालबीच छलफल भएपछि अहिलेको अवस्थामा पद छाड्नु उपयुक्त नहुने समझदारी बनेको स्रोतले जनाएको छ। उनीहरूले राजीनामा दिएमा आफूहरूलाई हटाउन चाहने पक्षलाई सहज हुने निष्कर्ष निकालेका छन्।
संवैधानिक परिषद्को निर्णयले सर्वोच्च अदालतभित्र वरिष्ठता र परम्पराबारे बहस चर्किएको छ। डा. मनोज शर्माको नियुक्ति संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी लामो समय प्रधानन्यायाधीश बन्ने सम्भावना रहेको बताइएको छ, जसका कारण केही वरिष्ठ न्यायाधीश नेतृत्वमा पुग्ने अवसरबाट वञ्चित हुन सक्ने अवस्था देखिएको छ।
