तेल अवीव। विश्वव्यापी रूपमा बढ्दै गएको भू-राजनीतिक तनाव र सैन्य सुदृढीकरणको होडका बीच सन् २०२५ मा इजरायलको रक्षा निर्यातमा अभूतपूर्व वृद्धि भएको छ। इजरायलको रक्षा मन्त्रालयद्वारा सार्वजनिक गरिएको आधिकारिक वार्षिक प्रतिवेदन अनुसार गत वर्ष इजरायली सैन्य सामग्रीको बिक्री अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले बढेर १९.२ बिलियन अमेरिकी डलर पुगेको छ।
रक्षा मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय रक्षा सहयोग निर्देशनालयका अनुसार इजरायलको इतिहासमा रक्षा निर्यातले यो विन्दु छुनु एक ऐतिहासिक कीर्तिमान हो। यो लगातार पाँचौँ वर्ष हो जसमा इजरायली रक्षा क्षेत्रले बिक्रीको नयाँ रेकर्ड कायम गरेको छ। विगत पाँच वर्षको अवधिमा मात्रै इजरायलको कुल सैन्य निर्यात दोब्बरले वृद्धि भएको तथ्याङ्कले देखाउँछ।
कुल वैदेशिक बिक्रीको ५० प्रतिशतभन्दा बढी हिस्सा सिधै इजरायली सरकार र मित्रराष्ट्रका सरकारहरूबीच भएका रणनीतिक सम्झौताहरूले ओगटेका छन्। कुल सम्झौताहरूमध्ये ५३ प्रतिशत सम्झौताहरू १०० मिलियन डलरभन्दा बढी मूल्यका ठूला सैन्य सम्झौता रहेका छन्, जसले इजरायली रक्षा प्रविधिमा विश्वका ठूला शक्ति राष्ट्रहरूको निर्भरता बढेको सङ्केत गर्दछ।
भौगोलिक वितरणका आधारमा इजरायली हतियार र सुरक्षा प्रणालीको सबैभन्दा ठूलो बजार युरोप र एसिया-प्रशान्त क्षेत्र बनेका छन्। युरोपमा ३६ प्रतिशत र एसिया-प्रशान्त क्षेत्रमा ३२ प्रतिशत निर्यात भएको छ। यसैगरी अब्राहम एकर्ड्स हस्ताक्षरकर्ता राष्ट्रहरूमा १५ प्रतिशत र उत्तर अमेरिकामा १३ प्रतिशत बजार हिस्सा रहेको छ।
उत्पादनका आधारमा इजरायलका एन्टि-मिसाइल र वायु सुरक्षा प्रणालीहरू विश्वभर सबैभन्दा बढी रुचाइएका छन्। कुल सैन्य निर्यातमा मिसाइल, रकेट र वायु सुरक्षा प्रणालीको हिस्सा २९ प्रतिशत रहेको छ भने निगरानी प्रणाली र अप्टोइलेक्ट्रोनिक्सको हिस्सा २२ प्रतिशत पुगेको छ। राडार तथा इलेक्ट्रोनिक वारफेयर र सशस्त्र विमानको विधाले ११-११ प्रतिशत हिस्सा ओगटेका छन्।
रक्षा विश्लेषकहरूका अनुसार यस वृद्धिका पछाडि मुख्य दुईवटा कारण रहेका छन्। पहिलो, पूर्वी युरोप र एसिया-प्रशान्त क्षेत्रमा विकसित सुरक्षा चुनौतीका कारण विश्वभर सैन्य बजेटमा गरिएको भारी वृद्धि। दोस्रो, हालैका वर्षहरूमा इजरायलले बहु-मोर्चामा सामना गरेको युद्धका क्रममा उसका अत्याधुनिक सुरक्षा प्रणालीहरूको प्रभावकारिता युद्धमै प्रमाणित हुनु हो, जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा इजरायली उत्पादनको विश्वसनीयता र माग उच्च हुन पुग्यो।
