ट्रम्प पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता चीन भ्रमणमा जाने तयारीमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता चीनको भ्रमणमा जाने हुनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तीन दिने चीन भ्रमण सकेर फर्किएलगत्तै पुटिनको यो भ्रमण हुन लागेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुटिन आगामी मे २० (तद्नुसार जेठ ७ गते) बेइजिङ पुग्ने सम्भावना छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र चाँडै नै आधिकारिक मिति घोषणा गरिने जानकारी दिनुभएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पनि दुवै देशबीच यो बैठकको तयारीलाई लिएर निरन्तर र नजिकबाट संवाद भइरहेको पुष्टि गर्नुभएको छ।

भ्रमणका मुख्य एजेन्डाहरू

  • द्विपक्षीय सम्बन्ध र व्यापार: यस भ्रमणको मुख्य उद्देश्य रुस र चीनबीचको ‘विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ लाई थप बलियो बनाउनु रहेको छ। हाल यी दुई देशबीचको व्यापारिक कारोबार २०० अर्ब डलरभन्दा बढी रहेको छ।
  • ट्रम्प–सी वार्ताको समीक्षा: क्रेमलिनका अनुसार राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हालै सम्पन्न अमेरिका–चीन शिखर वार्ताका विषयमा महत्त्वपूर्ण छलफल हुनेछ। रुसले सो वार्ताको प्रत्यक्ष जानकारी चिनियाँ नेतृत्वबाट लिने इच्छा राखेको छ।
  • साधारण कार्यगत भ्रमण: अमेरिकी राष्ट्रपतिको भ्रमण जस्तो भव्य स्वागत वा परेड यस पटक नहुने स्रोतहरूले जनाएका छन्। यो भ्रमणलाई मस्को र बेइजिङबीचको नियमित र रणनीतिक समन्वयको रूपमा मात्र हेरिएको छ।
    यो भ्रमण सफल भएमा चीन एउटै महिनाभित्र दुई शक्तिशाली राष्ट्र (अमेरिका र रुस) का राष्ट्रप्रमुखहरूलाई स्वागत गर्ने पहिलो देश बन्नेछ।
Scroll to Top