फिनल्याण्डको रक्षा बलले सम्भावित ड्रोन खतराको सूचना पाएपछि शुक्रबार बिहान देशको सुरक्षा सतर्कता स्तर बढाएको जनाएको छ। विशेषगरी हेलसिन्की र पोर्वो क्षेत्रबीच ड्रोन भित्रिन सक्ने आशंकापछि हवाई निगरानी र प्रतिरक्षा तयारी तीव्र पारिएको हो।
रक्षा बलका अनुसार बिहानैदेखि अतिरिक्त हवाई निगरानी कर्मचारी परिचालन गरिएको थियो भने लडाकु विमानको तयारी अवस्था पनि बढाइएको थियो। साथै स्थल सेना, हेलिकोप्टर र नौसैनिक जहाजहरूको प्रयोगसमेत बढाइएको जनाइएको छ। सीमाना सुरक्षा निकायले पनि आफ्नो तयारी बलियो बनाएको थियो।
सुरक्षालाई ध्यानमा राख्दै बिहान ४ बजेदेखि अस्थायी उडान प्रतिबन्ध क्षेत्र लागू गरिएको थियो। यसका कारण हेलसिन्की–भान्टा विमानस्थलको उडान सेवा केही समय प्रभावित भएको थियो भने फिनल्याण्डको खाडी क्षेत्रमा समुद्री मार्गसमेत परिवर्तन गरिएको थियो। पछि अवस्था सामान्य बन्दै गएपछि उडान सेवा पुनः सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्।
उद्धार तथा आपतकालीन निकायहरूले उउसिमा क्षेत्रमा सर्वसाधारणलाई घरभित्र बस्न आग्रह गर्दै चेतावनी जारी गरेका थिए। यद्यपि पछिल्लो अवस्थामा सम्भावित ड्रोनले अब खतरा नपुर्याउने बताइएको छ।
फिनल्याण्डको रक्षा बलले हाल देशमाथि प्रत्यक्ष सैन्य खतरा नरहेको स्पष्ट पारेको छ। अधिकारीहरूले नागरिकलाई शान्त रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरेका छन्।
