युक्रेनमा भ्रष्टाचार काण्ड चर्किँदै, जेलेन्स्कीमाथि पनि दबाब बढ्ने संकेत

युक्रेनमा ठूलो भ्रष्टाचार काण्ड सार्वजनिक भएपछि राष्ट्रपति भोलोदिमीर जेलेन्स्कि माथि राजनीतिक दबाब बढ्न थालेको छ। यद्यपि अनुसन्धानमा जेलेन्स्की प्रत्यक्ष रूपमा जोडिएको प्रमाण हालसम्म सार्वजनिक भएको छैन, तर उनका निकट सहयोगीहरूमाथि अनुसन्धान अघि बढेपछि यसले उनको राजनीतिक छविमा असर पार्न सक्ने विश्लेषण गरिएको छ।

DW का अनुसार, युक्रेनका पूर्व राष्ट्रपति कार्यालय प्रमुख आन्द्री यर्माकमाथि करिब १ करोड ५ लाख डलर बराबरको अवैध रकम शुद्धीकरण गरेको आरोप लागेको छ। उक्त रकम कीभ नजिकैको लक्जरी आवास परियोजनासँग सम्बन्धित रहेको बताइएको छ। यर्माकले भने आफूमाथिका आरोपलाई अस्वीकार गरेका छन्।

यो प्रकरण “अपरेशन मिडास” नाम दिइएको ठूलो भ्रष्टाचार अनुसन्धानसँग जोडिएको छ। अनुसन्धानमा ऊर्जा क्षेत्रसँग सम्बन्धित कथित घुस लेनदेन, सरकारी ठेक्का तथा उच्च तहका राजनीतिक व्यक्तिहरूको संलग्नताको आशंका गरिएको छ। अनुसन्धानकर्ताहरूले हजारौँ घण्टाका अडियो रेकर्ड तथा विभिन्न आर्थिक कागजातसमेत संकलन गरेको जनाइएको छ।

राष्ट्रपति जेलेन्स्कीले सार्वजनिक रूपमा भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाउँदै आएका छन्। युक्रेनले युरोपेली संघको सदस्यता प्रक्रिया अघि बढाइरहेका बेला पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई पश्चिमी देशहरूले विशेष महत्व दिइरहेका छन्। यही कारण अहिलेको प्रकरणले युक्रेनको अन्तर्राष्ट्रिय समर्थनमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

विश्लेषकहरूका अनुसार, यदि अनुसन्धान थप माथिल्लो तहसम्म पुगेमा यसले युद्धकालीन नेतृत्व गरिरहेका जेलेन्स्कीको राजनीतिक भविष्यमा असर पार्न सक्छ। तर हालसम्म उनीविरुद्ध कुनै औपचारिक आरोप दर्ता गरिएको छैन।

Scroll to Top