काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य ले संसद्मा प्रधानमन्त्री अनुपस्थित रहेको विषयलाई लिएर उठेको विवादमा प्रधानमन्त्रीको बचाउ गरेका छन्। उनले प्रधानमन्त्री उपस्थित नहुनुलाई परम्पराको “निरन्तरता भंग” का रूपमा व्याख्या गरेका हुन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने भन्दै विपक्षी दलहरूले माग गरेका थिए। त्यसको जवाफ दिँदै आचार्यले केहीले प्रधानमन्त्रीबाट जवाफ आउनु परम्परा मान्न सक्ने भए पनि प्रधानमन्त्री नआउनु परम्पराको क्रमभंगता मात्र भएको टिप्पणी गरे।
गत वैशाख २८ गते रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सोही कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल भइरहेको छ।
नीति तथा कार्यक्रममाथि ३५ वटा विरोधका सूचना दर्ता भएका छन्। छलफलका क्रममा विपक्षी दलहरूले प्रधानमन्त्री संसद्प्रति प्रत्यक्ष जवाफदेही हुनुपर्ने धारणा राख्दै आएका छन्। तर रास्वपाले भने प्रधानमन्त्रीको अनुपस्थितिलाई असामान्य नभएको संकेत गरेको छ।
