
टोकियो, २०२६ — जापान सरकारले विदेशी उद्यमीहरूका लागि प्रदान गरिने ‘बिजनेस म्यानेजर’ (Keiei-Kanri) भिसाको मापदण्डमा व्यापक कडाइ गरेको छ। भिसाको दुरुपयोग रोक्न र वास्तविक लगानीकर्तालाई मात्र प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यो नयाँ नियमपछि आवेदन दिनेहरूको संख्यामा झण्डै ९६ प्रतिशतले गिरावट आएको छ।
के-के परिवर्तन भए?
नयाँ नियमअनुसार अब जापानमा बिजनेस भिसा पाउन निम्न सर्तहरू पूरा गर्नुपर्नेछ:
- न्यूनतम पूँजीमा ६ गुणा वृद्धि: यसअघि ५० लाख येन भए पुग्नेमा अब न्यूनतम ३ करोड येन (करिब २ करोड ६० लाख नेपाली रुपैयाँ) अनिवार्य गरिएको छ।
- अनिवार्य कर्मचारी: कम्पनीमा कम्तिमा एक जना पूर्णकालीन कर्मचारी (जापानी नागरिक वा स्थायी आवासीय भिसा भएको विदेशी) राख्नुपर्नेछ।
- अनुभव वा शैक्षिक योग्यता: आवेदकको व्यापार व्यवस्थापनमा कम्तिमा ३ वर्षको अनुभव हुनुपर्ने वा सम्बन्धित विषयमा स्नातकोत्तर (Master’s Degree) गरेको हुनुपर्नेछ।
- भाषाको दक्षता: आवेदक वा कर्मचारीमध्ये कसै एकसँग जापानी भाषाको N2 स्तर वा सोसरहको ज्ञान हुनुपर्नेछ।
- व्यापार योजनाको प्रमाणीकरण: अब बिजनेस प्लान (Business Plan) आफैंले बनाएर मात्र पुग्दैन, यसलाई जापानी प्रमाणित लेखा परीक्षक (CPA) वा विज्ञबाट प्रमाणित गराउनुपर्नेछ।
- कार्यालयको व्यवस्था: ‘भर्चुअल अफिस’ वा घरको ठेगानालाई अब कार्यालयको रूपमा मान्यता दिइने छैन। व्यवसायका लागि छुट्टै भौतिक कार्यालय अनिवार्य गरिएको छ।
नेपाली समुदायमा पर्ने असर
जापानमा बिजनेस भिसामा रहेका विदेशीहरूमध्ये नेपालीहरूको संख्या तेस्रो स्थानमा छ। धेरैजसो नेपालीहरूले सानो लगानीमा रेस्टुरेन्ट वा खुद्रा व्यापार सञ्चालन गर्दै आएका छन्। नयाँ नियम अनुसार ३ करोड येन पूँजी पुर्याउनु पर्ने भएपछि साना नेपाली व्यवसायीहरूलाई आफ्नो व्यवसाय टिकाउन निकै कठिन हुने देखिएको छ।
हाल भिसा भएकाहरूलाई के हुन्छ?
सरकारले हाल बिजनेस भिसामा रहेकाहरूका लागि ३ वर्षको संक्रमणकालीन अवधि (Grace Period) दिएको छ।
- यो अवधि २०२८ अक्टोबर १६ मा समाप्त हुनेछ।
- त्यतिन्जेलसम्म पुराना व्यवसायीले बिस्तारै नयाँ मापदण्ड (३ करोड पूँजी र कर्मचारी) पूरा गर्नुपर्नेछ। यदि २०२८ पछि पनि यो मापदण्ड पूरा नभएमा भिसा नवीकरण गर्न कठिन हुनेछ।
