अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दुत काठमाडौँ आउदै

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौँ आइपुग्दै छन्। दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूतको दोहोरो जिम्मेवारीमा रहेका गोरको यो भ्रमणलाई नेपालको नयाँ सरकारसँगको सम्बन्ध विस्तारका लागि महत्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ। विशेष गरी राष्ट्रपति ट्रम्पका निकै विश्वासपात्र मानिने गोरको आगमनले वासिङ्टनले नेपालको वर्तमान राजनीतिक नेतृत्वलाई दिएको प्राथमिकतालाई स्पष्ट पारेको छ।


​यद्यपि यो भ्रमणलाई लिएर प्रधानमन्त्री बालेन शाहको सचिवालय र अमेरिकी पक्षबीच ‘प्रोटोकल’ को विषयमा केही असमझदारी देखिएको छ। प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञहरूसँगको भेटघाटमा सरकार प्रमुख वा सोसरहको तह हुनुपर्ने अडान राख्दै आएका छन्। यसअघि अमेरिकी सहायक मन्त्री एस. पल कपुरलाई समय नदिएका प्रधानमन्त्रीले विशेष दूत गोरलाई भेट्ने वा नभेट्ने भन्ने विषय अझै अनिश्चित छ। अमेरिकी पक्षले भने गोरको हैसियत र प्रभावलाई ध्यानमा राख्दै प्रधानमन्त्रीसँगको शिष्टाचार भेटका लागि निरन्तर प्रयास गरिरहेको बुझिएको छ।


​भ्रमणका क्रममा विशेष दूत गोरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग औपचारिक वार्ता गर्ने कार्यक्रम तय भएको छ। यी भेटघाटहरूमा मुख्य गरी नेपालमा अमेरिकी लगानीको वातावरण, वैदेशिक प्रत्यक्ष लगानी (FDI) सम्बन्धी कानुनी सुधार र क्षेत्रीय सुरक्षाका विषयमा छलफल हुनेछ। अमेरिकाले नेपालमा ठूला पूर्वाधार र प्रविधि क्षेत्रमा लगानी बढाउन चाहेको र त्यसका लागि नेपाल सरकारले गर्ने नीतिगत सुधारका बारेमा गोरले चासो राख्ने बताइएको छ।


​दक्षिण एसियाली भ्रमणका क्रममा श्रीलङ्का र भुटानका सरकार प्रमुखहरूसँग भेटिसकेका गोरको काठमाडौँ बसाइले नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धको आगामी दिशा तय गर्ने अनुमान गरिएको छ। भोलि हुने उच्चस्तरीय भेटवार्ताहरूमा प्रधानमन्त्री शाहको कूटनीतिक अडान र अमेरिकी रणनीतिक चासोबीच कस्तो समन्वय हुन्छ भन्ने कुराले विशेष महत्व राख्ने देखिन्छ। विशेष दूत गोरको यो भ्रमणले नेपालको बदलिँदो राजनीतिक परिदृश्यमा शक्ति राष्ट्रहरूको सक्रियतालाई समेत प्रतिविम्बित गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top