चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्प प्रशासनको प्रस्ताव

वासिङ्टन, २०८३ मंसिर १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीन, भारत, जापान र युरोपेली संघसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव सार्वजनिक गरेको छ। अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर) ले बुधबार, नोभेम्बर २५ मा आठ महिनादेखि चलिरहेको व्यापार अनुसन्धानपछि प्रस्ताव अघि सारेको हो। अमेरिकी उद्योगलाई अनुचित प्रतिस्पर्धाबाट जोगाउने र विदेशी मुलुकमा रहेको अतिरिक्त औद्योगिक उत्पादन क्षमता नियन्त्रण गर्ने उद्देश्यले नयाँ शुल्क प्रस्ताव गरिएको अमेरिकी प्रशासनको भनाइ छ।

प्रस्तावित शुल्कको सूचीमा चीन, भारत, बंगलादेश, कम्बोडिया, युरोपेली संघ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड र भियतनाम रहेका छन्। अनुसन्धानमा समेटिएका मेक्सिको र नर्वेका विषयमा भने तत्काल शुल्क प्रस्ताव गरिएको छैन।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनमाथि सबैभन्दा बढी शुल्क लाग्ने सम्भावना छ। चीनबाट आयात हुने वस्तुमा अतिरिक्त औद्योगिक उत्पादन क्षमताका कारण प्रस्ताव गरिएको २० प्रतिशत शुल्क यसअघि लागू गरिएका करिब २५ प्रतिशत शुल्कसँग जोडिँदा केही वस्तुमा कुल शुल्क ४५ प्रतिशतसम्म पुग्न सक्छ। चीनले भने आफ्नो निर्यात प्रतिस्पर्धात्मक क्षमतामा आधारित रहेको भन्दै अमेरिकी आरोप अस्वीकार गरेको छ।

भारतका लागि प्रस्तावित शुल्क व्यापार सम्झौताको अवस्थाअनुसार १७ देखि २५ प्रतिशतसम्म हुन सक्ने बताइएको छ। भारत र अमेरिकाबीच व्यापार सम्झौता अझै अन्तिम रूप लिएको छैन। जापान, दक्षिण कोरिया र युरोपेली संघजस्ता अमेरिकासँग व्यापार सम्झौता गरेका साझेदारका लागि भने शुल्कको सीमा सम्झौताअनुसार कायम गरिने अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी प्रशासनले विदेशी सरकारबाट दिइने अनुदान, औद्योगिक सहायता र अन्य व्यापार नीतिका कारण उत्पादन मागभन्दा बढी भइरहेको आरोप लगाएको छ। त्यसबाट सस्तो वस्तु अमेरिकी बजारमा प्रवेश गर्दा अमेरिकी उत्पादकहरू प्रभावित भएको वासिङ्टनको दाबी छ। विशेषगरी चीनको स्टिल, आल्मुनियम, विद्युतीय सवारीसाधन, सौर्य उत्पादन तथा घरेलु उपकरण उद्योगलाई अमेरिकी प्रशासनले निशाना बनाएको छ।

नयाँ शुल्क अमेरिकी व्यापार ऐन १९७४ को धारा ३०१ अन्तर्गत प्रस्ताव गरिएको हो। यसअघि अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले आपत्कालीन अधिकार प्रयोग गरी व्यापक रूपमा लगाएका शुल्कहरू खारेज गरेको थियो। नयाँ प्रस्ताव सार्वजनिक सुनुवाइ र टिप्पणी प्रक्रियाबाट गुज्रनुपर्ने भएकाले यसको कार्यान्वयन जनवरी २०२७ सम्म पुग्न सक्ने बताइएको छ।

स्रोत: रोयटर्स, अल जजिरा, द न्यु इन्डियन एक्सप्रेस।

Scroll to Top