लन्डन/वासिङ्टन, २०८३ मंसिर १०। अमेरिकी अर्बपति टोड बोहेलीको नेतृत्वमा रहेको लगानीकर्ता समूहले अमेरिकी सरकारको समर्थनमा प्रतिबन्धित रुसी तेल कम्पनी लुकोइलका अन्तर्राष्ट्रिय ऊर्जा सम्पत्ति खरिद गर्न १० अर्ब अमेरिकी डलर बराबरको सेयर साटासाट सम्झौता गरेको छ। सम्झौताअनुसार लुकोइलका विदेशी सम्पत्ति खरिद गर्न कम्पनीका प्रतिबन्धित सेयर प्रयोग गरिनेछ। तर, कारोबार सम्पन्न गर्न अमेरिकी अर्थ मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ।
समाचार संस्था रोयटर्सका अनुसार बोहेलीले नोभेम्बर २५ मा सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएका हुन्। एक वर्षभन्दा बढी समयदेखि चलिरहेको वार्तापछि भएको यस सम्झौतामा अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) पनि सहभागी छ। सम्झौता स्वीकृत भएमा अमेरिकी सरकार लुकोइलका अन्तर्राष्ट्रिय ऊर्जा सम्पत्तिमा हिस्सेदार बन्नेछ।
सम्झौतामा लुकोइलका करिब १० अर्ब डलर मूल्यका प्रतिबन्धित धितोपत्र साटेर कम्पनीका विदेशी सम्पत्ति प्राप्त गर्ने व्यवस्था छ। ती सम्पत्तिको अनुमानित मूल्य करिब १६ अर्ब डलर रहेको बताइएको छ। कारोबारमा प्रत्यक्ष नगद लुकोइललाई हस्तान्तरण गरिने छैन, बरु साटासाट गरिने धितोपत्र संयुक्त अरब इमिरेट्समा रहेको प्रतिबन्धित खातामा राखिनेछ।
लुकोइलको अन्तर्राष्ट्रिय पोर्टफोलियोमा अजरबैजान र कजाखस्तानसहित ११ देशका तेल उत्पादन क्षेत्र, नेदरल्यान्ड्स, बुल्गेरिया र रोमानियाका प्रशोधन केन्द्र तथा विभिन्न देशमा रहेका इन्धन बिक्री केन्द्र समावेश छन्। यी तेल उत्पादन क्षेत्रबाट दैनिक करिब ३ लाख ५० हजार ब्यारेल तेल उत्पादन हुने बताइएको छ। कम्पनीका अन्तर्राष्ट्रिय कारोबार करिब ४० देशमा फैलिएका छन्।
सम्झौताअनुसार डीएफसीले लुकोइलका विदेशी सम्पत्ति सञ्चालन गर्ने कम्पनीमा स्वामित्व हिस्सा तथा सञ्चालक समितिमा प्रतिनिधित्व प्राप्त गर्नेछ। निजी लगानीकर्ताले आफ्नो लगानी र सहमत प्रतिफल प्राप्त गरेपछि अमेरिकी सरकारले भविष्यमा हुने नाफाको हिस्सा पाउने व्यवस्था पनि प्रस्तावित छ। डीएफसीको स्वामित्व हिस्सा कति हुनेछ भन्ने खुलाइएको छैन।
अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले सम्झौताको समीक्षा गर्नेछ। लुकोइलमाथि सन् २०२५ अक्टोबरमा अमेरिकी प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्धका कारण रुसी कम्पनीले आफ्नो विदेशी सम्पत्ति बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो। अमेरिकी अधिकारीहरूले कारोबारबाट लुकोइल वा रुसलाई प्रतिबन्धित आर्थिक लाभ नपुग्ने सुनिश्चित गर्नुपर्ने बताएका छन्।
बोहेलीले सम्झौता पूरा हुन एक वर्षसम्म लाग्न सक्ने बताएका छन्। यसअघि लुकोइलका विदेशी सम्पत्ति खरिद गर्न इच्छुक अन्य कम्पनीहरूले पनि सम्झौता गरेका थिए, तर अमेरिकी प्रतिबन्धसम्बन्धी स्वीकृति प्राप्त गर्न नसक्दा कारोबार पूरा हुन सकेन। नयाँ सम्झौताले रुसी ऊर्जा क्षेत्रमा अमेरिकी प्रभाव विस्तार गर्ने र रुसको युद्ध वित्तपोषण क्षमतामा दबाब दिने उद्देश्य राखेको बताइएको छ।
स्रोत: रोयटर्स, द किभ इन्डिपेन्डेन्ट, द मस्को टाइम्स.
