बर्लिन, २०८३ मंसिर १० गते। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युक्रेनमा जारी युद्ध युरोपले रुसविरुद्ध लडिरहेको छद्मयुद्धमा परिणत भएको बताएका छन्। जर्मन पोडकास्ट ‘एमडी मिट्स’मा बुधबार सार्वजनिक अन्तर्वार्ताका क्रममा उनले युद्ध थप व्यापक रूपमा फैलिन सक्ने चेतावनी दिएका हुन्।
कुशनरले युक्रेनलाई युरोपेली देशहरूले आर्थिक सहयोग र हतियार उपलब्ध गराइरहेको उल्लेख गर्दै युद्धको दायरा युक्रेनमा सीमित रहे पनि यसको प्रभाव रुस तथा युरोपबीचको प्रत्यक्ष टकरावसम्म पुग्न सक्ने बताए। “सानो गलत आकलनले पनि यो युद्धलाई ठूलो स्तरमा बढाउन सक्छ,” उनले भने।
अमेरिकी विशेष दूत कुशनर र स्टिभ विटकफले यसै महिनाको सुरुमा रुस र युक्रेनबीचको शान्ति वार्तामा मध्यस्थता गरेका थिए। अबुधाबीमा भएको वार्तामा क्षेत्रीय विवाद र युद्धपछिको सुरक्षा व्यवस्थाबारे छलफल भए पनि कुनै ठोस सहमति हुन सकेको छैन।
कुशनरका अनुसार पूर्वी युक्रेनको भूभागसम्बन्धी विवाद वार्ताको मुख्य अवरोध बनेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी वार्ता टोलीसँग लामो छलफल गरेपछि पनि उक्त विषयमा दुवै पक्षबीच सहमति हुन नसकेको उनले बताए।
उनले युरोपेली देशहरूले युक्रेनलाई सहयोग गरिरहँदा रुसबाट ऊर्जा खरिद पनि जारी राखेको भन्दै आलोचना गरे। कुशनरले युद्ध सुरु भएयता युरोपले रुसबाट २५० अर्ब अमेरिकी डलरभन्दा बढीको जीवाश्म इन्धन खरिद गरेको दाबी गरे। आफूले प्राप्त गरेको तथ्यांक सही भए युरोपले युक्रेनलाई दिएको सहयोगभन्दा रुसबाट ऊर्जा खरिदमा बढी रकम खर्च गरेको उनको भनाइ थियो।
कुशनरले रुसी राष्ट्रपति पुटिनले परमाणु हतियार प्रयोग नगर्ने आश्वासन दिएको र अहिलेसम्म संयम देखाएको पनि बताए। उनको यो टिप्पणीलाई युद्धमा रुसको भूमिकाप्रति नरम दृष्टिकोणका रूपमा आलोचना गरिएको छ।
अमेरिकी पूर्वराजदूत तथा स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक माइकल म्याकफाउलले कुशनरको भनाइप्रति असहमति जनाएका छन्। उनले पुटिनलाई विश्व राजनीतिका असाधारण रणनीतिकारका रूपमा प्रस्तुत गर्नु उचित नभएको टिप्पणी गरेका छन्।
स्रोत: एएफपी, रोयटर्स, आरटी, अरब न्युज
