लक्जेम्बर्ग, २०८३ मंसिर ९। नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले आगामी नोभेम्बर २९ र ३० मा लक्जेम्बर्गमा आयोजना हुने नेपाल–युरोप प्रविधि, व्यापार तथा लगानी सम्मेलन २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा हुने सम्मेलनले नेपाली उत्पादनलाई युरोपेली बजारमा पहुँच विस्तार गर्नुका साथै युरोपेली लगानी र प्रविधि नेपाल भित्र्याउने लक्ष्य राखेको छ।
अनलाइनखबरका अनुसार सम्मेलन लक्जेम्बर्गस्थित डबलट्री बाई हिल्टन होटलमा आयोजना हुनेछ। बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग तथा युरोपेली संघका लागि नेपाली राजदूतावासको संरक्षणमा हुने कार्यक्रममा नेपाल र युरोपका व्यवसायी, लगानीकर्ता, उद्यमी तथा विभिन्न क्षेत्रका विज्ञ सहभागी हुनेछन्।
सम्मेलनमा प्रतिनिधिसभा सदस्य मनिष झा, नेपाली राजदूत सेवा लम्साल, युरोपेली लगानी बैंकका प्रतिनिधि एडभार्डस बुम्स्टाइनस तथा युरोपेली संघको बाह्य कार्य सेवाका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ। नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ।
‘नेपाल–युरोप साझेदारीका लागि सरकार, व्यवसाय र प्राज्ञिक क्षेत्रको सहकार्य’ भन्ने मूल भावनासहित आयोजना हुने सम्मेलनमा व्यापार तथा लगानी, सूचना प्रविधि तथा डिजिटल नवप्रवर्तन, युवा उद्यमशीलता, पर्यटन र व्यावसायिक सहकार्य गरी पाँच प्रमुख विषयमा छलफल हुनेछ। युवा उद्यमशीलता तथा सूचना प्रविधि नवप्रवर्तनसम्बन्धी सत्रको नेतृत्व चिरन खवासले गर्नेछन्।
नेबा युरोपका अध्यक्ष याम निरौलाका अनुसार सम्मेलनलाई औपचारिक छलफलमा मात्र सीमित नराखी ठोस व्यावसायिक सहकार्य र दीर्घकालीन साझेदारीको आधार बनाउने लक्ष्य राखिएको छ। सम्मेलनमा युरोपमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्तासँगै स्थानीय र अन्य युरोपेली व्यवसायीलाई पनि सहभागी गराउने उद्देश्य छ।
नेपाली उत्पादनको गुणस्तर सुधार, नियमित आपूर्ति र युरोपेली बजारमा पहुँच विस्तार सम्मेलनका प्रमुख प्राथमिकतामध्ये रहनेछन्। आयोजकले नेपाली उत्पादनलाई नेपाली समुदायमा मात्र सीमित नराखी युरोपेली उपभोक्ताको व्यापक बजारसम्म पुर्याउन तथा नेपालमा युरोपेली प्रविधि र लगानी भित्र्याउन व्यावसायिक साझेदारी आवश्यक रहेको जनाएको छ।
सम्मेलनबाट प्राप्त सुझाव तथा निष्कर्ष समेटेर ‘नेपाल–युरोप सेमिनार रिजोलुसन एन्ड पोलिसी रेफरेन्स डकुमेन्ट २०२६’ तयार गरिनेछ। उक्त दस्तावेजले आगामी दिनमा नेपाल र युरोपबीच व्यापार, लगानी तथा संस्थागत सहकार्यलाई निरन्तरता दिन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
