बेङ्गाजी, २०८३ मंसिर ९। युक्रेनले लिबियाको पूर्वी सहर बेङ्गाजीस्थित बन्दरगाहमा रहेको रुसी नौसेनाको युद्धपोत समुद्री ड्रोन प्रयोग गरी आक्रमण गरेर डुबाएको दाबी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार (नोभेम्बर २३) सातवटा स्वदेशी प्रविधिबाट निर्मित समुद्री ड्रोन प्रयोग गरी रुसी युद्धपोतसहित अन्य सैन्य सामग्रीलाई निशाना बनाइएको पुष्टि गरेका हुन्।
जेलेन्स्कीका अनुसार आक्रमणमा रुसी नौसेनाको ‘मेर्कुरी’ नामक कोर्भेट युद्धपोत डुबेको छ। सन् २०२३ मा सेवामा प्रवेश गरेको उक्त युद्धपोत रुसी नौसेनाका नयाँ युद्धपोतहरूमध्ये एक हो। युद्धपोतसँगै त्यसमा रहेको केए–२७ सैन्य हेलिकोप्टर पनि नष्ट भएको उनले दाबी गरेका छन्।
युक्रेनी सुरक्षा सेवा (एसबीयू) का अनुसार आक्रमणमा सातवटा मानवरहित समुद्री ड्रोन प्रयोग गरिएको थियो। एसबीयूले रुसी युद्धपोतले रुसी सैन्य सामग्री ओसारपसार गर्ने जहाजहरूलाई सुरक्षा प्रदान गर्दै आएको र त्यसैले उक्त युद्धपोतलाई वैध सैन्य निशाना बनाइएको जनाएको छ।
युक्रेनले रुसी मालवाहक पानीजहाज एमभी आङ्गारालाई समेत निशाना बनाएको जनाएको छ। जेलेन्स्कीका अनुसार उक्त जहाज रुसका लागि हतियार तथा सैन्य सामग्री ढुवानीमा प्रयोग हुँदै आएको थियो। तर, जहाजमा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नोभेम्बर २२ मा भएको आक्रमणपछि लिबियाका पूर्वी अधिकारीहरूले प्रारम्भिक अनुसन्धानका आधारमा रुसी युद्धपोतमा ड्रोन आक्रमण भएको बताएका थिए। घटनामा रुसी र लिबियाली गरी १० जना सामान्य घाइते भएको जनाइएको छ। भूउपग्रहबाट खिचिएका तस्बिरमा युद्धपोतको ठूलो भाग डुबेको देखिएको रोयटर्सले उल्लेख गरेको छ।
युक्रेनका विदेशमन्त्री आन्द्रिय सिबिहाले मंगलबार उक्त आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ अन्तर्गत आत्मरक्षाको वैध कार्य भएको बताएका छन्। उनका अनुसार रुसी सैन्य जहाज र सैन्य सामग्री ढुवानी गर्ने पानीजहाजलाई निशाना बनाउने युक्रेनको अधिकार छ।
तर, लिबियाको राजधानी त्रिपोलीस्थित अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले आफ्नो देशलाई रुस–युक्रेन युद्धमा तान्न नहुने भन्दै घटनाप्रति आपत्ति जनाएको छ। संयुक्त राष्ट्रसंघको लिबिया सहायता मिसनले पनि घटनाको तत्काल, स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न माग गरेको छ। लिबियालाई विदेशी शक्तिबीचको द्वन्द्वको मैदान बन्न दिन नहुने उसको भनाइ छ।
रुसले भने आक्रमणबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। लिबियाको पूर्वी प्रशासनले घटनाको अनुसन्धानका लागि रुससँग संयुक्त पहल गरेको जनाएको छ।
यस घटनाले रुस–युक्रेन युद्ध युक्रेनको सीमाभन्दा टाढा भूमध्यसागरीय क्षेत्रमा समेत फैलिन सक्ने जोखिमलाई पुनः उजागर गरेको छ।
स्रोत: रोयटर्स, एएफपी, अल जजिरा, आरएफई/आरएल।
