रवि–बालेनबीच पाँच घण्टा लामो भेटवार्ता

काठमाडौँ, २०८३ मंसिर ११। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बिहीबार लामिछानेको बुढानीलकण्ठस्थित निवासमा करिब पाँच घण्टा लामो भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, आगामी निर्वाचनको तयारी, सरकारको कार्यसम्पादन र संसद् अधिवेशनलगायत विषयमा छलफल भएको छ।

लामिछानेको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा भएका छलफल र प्राप्त उपलब्धिबारे पार्टी सभापति लामिछानेलाई जानकारी गराएका थिए। दुई नेताबीच आगामी निर्वाचनको तयारी तथा बदलिँदो राजनीतिक परिस्थितिबारे पनि विचारविमर्श भएको थियो।

भेटमा रास्वपाले सञ्चालन गर्न लागेको पार्टी प्रशिक्षण अभियानका विषयमा समेत छलफल भएको बताइएको छ। त्यसैगरी, मन्त्री तथा मन्त्रालयहरूको कार्यसम्पादन र सरकारका समग्र कामकारबाहीबारे समीक्षा गरिएको थियो।

आगामी संसद् अधिवेशन, संसद् बैठक आह्वान, विधेयक तथा सरकारले ल्याउन तयारी गरेका अध्यादेशका विषयमा पनि दुई नेताबीच कुराकानी भएको सचिवालयले जनाएको छ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। यद्यपि, छलफलमा उठेका विषयबारे जानकारी सार्वजनिक भए पनि कुनै ठोस निर्णय वा सहमति भएको विवरण भने सार्वजनिक गरिएको छैन।

Scroll to Top