किभ, २०८३ मंसिर ११ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रूसप्रतिको नरम व्यवहारको आलोचना गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मित्र’ भन्नु अनुचित भएको बताएका छन्। बीबीसीसँग शुक्रबार प्रसारण भएको अन्तर्वार्तामा जेलेन्स्कीले ट्रम्पको पुटिनसँगको निकटतामाथि प्रश्न उठाउँदै रूसलाई युद्ध रोक्न अमेरिकाले थप दबाब दिनुपर्ने बताएका हुन्।
जेलेन्स्कीले ट्रम्पले हालै चीनमा भएको शिखर भेटवार्ताका क्रममा पुटिनलाई ‘मेरो मित्र’ भनेको प्रसंगलाई ‘अनौठो’ बताएका छन्। उनले पुटिन युक्रेनमाथि आक्रमण गर्ने व्यक्ति भएकाले उनलाई मित्र मान्न नसकिने टिप्पणी गरे। दोस्रो विश्वयुद्धका बेला एडोल्फ हिटलरलाई मित्र मानिएको अवस्थासँग तुलना गर्दै जेलेन्स्कीले आक्रमणकारीलाई मित्रका रूपमा प्रस्तुत गर्नु गलत हुने बताए।
अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोगप्रति पनि जेलेन्स्कीले असन्तुष्टि व्यक्त गरेका छन्। उनले रूसका क्षेप्यास्त्र आक्रमण रोक्न आवश्यक प्याट्रियट हवाई रक्षा प्रणालीका क्षेप्यास्त्र आपूर्तिमा ढिलाइ भइरहेको बताए। उनका अनुसार अमेरिकाले रूसमाथि पर्याप्त दबाब नदिँदा युक्रेनले थप क्षति व्यहोर्नुपरेको छ।
जेलेन्स्कीको पछिल्लो टिप्पणी यस्तो समयमा आएको हो, जब ट्रम्प प्रशासनले रूस र युक्रेनबीच युद्धविराम तथा शान्ति सम्झौता गराउने प्रयास गरिरहेको छ। तर, युद्ध अन्त्यका लागि रूसमाथि कति दबाब दिने भन्ने विषयमा वासिङ्टन र किभबीच मतभेद देखिँदै आएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा शान्ति वार्तामा संलग्न जेरेड कुश्नरले पुटिनलाई ‘राजनीतिका ग्रान्डमास्टर’ भन्दै प्रशंसा गरेका थिए। त्यसअघि अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि पुटिनलाई ‘मानवतावादी’ भनेका थिए। अमेरिकी अधिकारीहरूको यस्तो अभिव्यक्तिले युक्रेनको असन्तुष्टि थप बढाएको छ।
युरोपेली संघका नेताहरूले पनि युक्रेनको आगामी आर्थिक तथा सैन्य आवश्यकताका लागि प्रस्ताव गरिएको ४५ अर्ब युरो ऋणमा सहमति जुटाउन सकेका छैनन्। यसले युद्ध जारी राख्न युक्रेनलाई आवश्यक पर्ने आर्थिक सहयोगबारे अनिश्चितता बढाएको छ।
स्रोत: बीबीसी, एसोसिएटेड प्रेस, सीबीएस न्युज, द वासिङ्टन पोस्ट ।
