काठमाडौं, मंसिर ९, २०८३। नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। उक्त रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। मुद्दा पेसी सूचीको दोस्रो नम्बरमा रहेको छ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनले आफूलाई पूर्ववत् पदमा पुनर्बहाली गर्न र नयाँ आईजीपी डा. मनोजकुमार केसीलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका छन्।
यसअघि मंसिर ७ गते सुनुवाइका लागि पेसी तोकिए पनि आईजीपी केसीलाई अदालतको म्याद तामेल भएको प्रमाण पेस हुन नसकेपछि सुनुवाइ स्थगित भएको थियो। त्यसपछि सर्वोच्च अदालतले प्रहरी प्रधान कार्यालयमार्फत म्याद तामेल गर्ने व्यवस्था गर्न आदेश दिएको थियो।
यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारणसहित लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेशसम्बन्धी छलफलका लागि मुद्दालाई प्राथमिकता दिन निर्देशन दिएको थियो।
सरकारले कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।
कार्कीले प्रहरी नेतृत्व परिवर्तन गर्दा प्रचलित प्रहरी ऐन तथा नियमावलीको व्यवस्था पालना नगरिएको जिकिर गरेका छन्। आजको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीको बहसपछि नयाँ आईजीपीको नियुक्ति तथा कामकाज रोक्न अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा सर्वोच्च अदालतले निर्णय गर्नेछ।
