मस्को, २०८३ मंसिर ८। रुसले आगामी केही साताभित्र आणविक हतियार बोकेको भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्न सक्ने पश्चिमी गुप्तचर निकायहरूले चेतावनी दिएका छन्। जर्मन सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको अनुसन्धानात्मक प्रतिवेदनअनुसार रुसले ‘स्पुतनिक–एस’ नामक आणविक क्षमतायुक्त भूउपग्रह प्रक्षेपणको तयारी गरिरहेको छ। यसले विश्वको अन्तरिक्ष सुरक्षा र सञ्चार प्रणालीमा गम्भीर जोखिम उत्पन्न गर्न सक्ने आकलन गरिएको छ।
जर्मनीका सार्वजनिक प्रसारण संस्था डब्लुडिआर र एनडीआर तथा समाचारपत्र सुडडोयचे साइटुङले नोभेम्बर २३ मा सार्वजनिक गरेको अनुसन्धानअनुसार उक्त भूउपग्रह मस्कोनजिकै केही वर्षदेखि भण्डारण गरिएको बताइएको छ। जर्मन सैन्य गुप्तचर तथा सुरक्षा निकायबाट प्राप्त सूचनाका आधारमा तयार गरिएको प्रतिवेदनले रुसले आगामी ६० दिनभित्र यसको प्रक्षेपण गर्न सक्ने उल्लेख गरेको छ। जर्मनीको बुन्डेसवेहर अन्तरिक्ष कमान्डले सन् २०२६ डिसेम्बरमै प्रक्षेपण हुन सक्ने सम्भावना औँल्याएको छ।
यो हतियार पृथ्वीमा रहेका लक्ष्यलाई प्रत्यक्ष आक्रमण गर्न नभई अन्तरिक्षमै आणविक विस्फोट गराएर भूउपग्रहहरू निष्क्रिय पार्ने उद्देश्यले विकास गरिएको हुन सक्ने आशंका छ। अन्तरिक्षमा आणविक विस्फोट भएमा उत्पन्न हुने विकिरण र विद्युत्चुम्बकीय प्रभावले पृथ्वीको तल्लो कक्षमा रहेका ठूलो संख्याका भूउपग्रहहरू नष्ट वा निष्क्रिय हुन सक्छन्।
अमेरिकी अन्तरिक्ष कमान्डका प्रमुख जनरल स्टेफन ह्वाइटिङले यसअघि अन्तरिक्षमा आणविक विस्फोट भएमा पृथ्वीको तल्लो कक्षमा रहेका करिब एकतिहाइ भूउपग्रह केही घण्टा वा दिनभित्रै प्रभावित हुन सक्ने चेतावनी दिएका थिए। यसबाट जीपीएस, अन्तर्राष्ट्रिय सञ्चार, बैंकिङ प्रणाली, ऊर्जा आपूर्ति तथा सैन्य सञ्चारमा समेत व्यापक अवरोध आउन सक्ने जोखिम छ।
यसैबीच, नेटोका महासचिव मार्क रुटेले अन्तरिक्षमा उत्पन्न हुन सक्ने कुनै पनि सुरक्षा चुनौतीको सामना गर्न गठबन्धन तयार रहेको बताएका छन्। नोभेम्बर २४ मा उनले नेटो सदस्य राष्ट्रहरूको सम्पूर्ण भूभागको सुरक्षा सुनिश्चित गर्नुका साथै अन्तरिक्ष क्षेत्रमा पनि सुरक्षात्मक क्षमता कायम राख्ने बताएका हुन्।
यता, रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आफूले पछिल्लो प्रतिवेदन नहेरेको बताएका छन्। जर्मनीस्थित रुसी दूतावासले भने आणविक हतियारयुक्त भूउपग्रह प्रक्षेपणको आरोपलाई निराधार भन्दै अस्वीकार गरेको छ।
यसअघि रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले नोभेम्बर २३ मा रुसलाई आफ्नो सुरक्षाका लागि आवश्यक परे आणविक हतियार प्रयोग गर्ने अधिकार रहेको बताएका थिए। यद्यपि, युक्रेन युद्धमा अहिलेसम्म आणविक हतियार प्रयोग गर्नुपर्ने प्रत्यक्ष आवश्यकता उत्पन्न नभएको उनको भनाइ थियो।
स्रोत: डब्लुडिआर, एनडीआर, सुडडोयचे साइटुङ, रोयटर्स, एएफपी, एनाटोलु एजेन्सी।
