नयाँदिल्ली, २०८३ मंसिर ७। भारतको राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सोमबार नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाले औपचारिक सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि शाह आइतबार नयाँदिल्ली पुगेका थिए।
प्रधानमन्त्री शाहको यो पदभार ग्रहण गरेपछिको पहिलो द्विपक्षीय विदेश भ्रमण हो। भारतीय राष्ट्रपतिको औपचारिक स्वागत कार्यक्रमअन्तर्गत उनलाई सैन्य सम्मान प्रदान गरिएको हो।
सम्मान ग्रहणपछि शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनले भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा एक्लाएक्लै तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।
नेपालको परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा दुई देशबीचको व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, यातायात सम्पर्क, प्रविधि, शिक्षा र अन्य आपसी हितका विषयमा छलफल हुनेछ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा समेत विचार आदानप्रदान हुने बताइएको छ।
वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र विभिन्न सहमति तथा समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ। शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेटवार्ता गर्नेछन्।
यसअघि आइतबार नेपालबाट भारत प्रस्थान गर्दा शाहले नेपाली सेनाको परम्परागत गार्ड अफ अनर तथा औपचारिक बिदाइ समारोहमा सहभागी भएका थिएनन्। तर भारतमा भने उनले राजकीय भ्रमणको औपचारिक सैन्य सम्मान ग्रहण गरेका छन्।
