अमेरिका, २०८३ मंसिर १। अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसेन हुआङले कम्पनीको नेतृत्वमा पुनः फर्किन इच्छुक रहेको संकेत गरेका छन्। गत साता व्यक्तिगत सम्बन्ध र चीनसँग जोडिएको राष्ट्रिय सुरक्षा विवादका कारण पदबाट राजीनामा दिएका हुआङले मंगलबार पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै सञ्चालक समितिले चाहे आफू पुनः जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका हुन्।
हुआङले सामाजिक सञ्जालमार्फत सञ्चालक समितिले आफ्नो पुनरागमन कम्पनी, कर्मचारी, सेयरधनी र अमेरिकाको हितमा हुने निर्णय गरे आफू सीईओका रूपमा फर्किन सम्मानित महसुस गर्ने बताएका छन्। उनले व्यक्तिगत जीवनमा गम्भीर गल्ती गरेको स्वीकार गर्दै आफूले गरेका गल्तीको पूर्ण जिम्मेवारी लिने पनि उल्लेख गरेका छन्।
हुआङको पुनरागमनका लागि प्रविधि क्षेत्रका केही प्रभावशाली व्यक्तिहरूले समर्थन जनाएका छन्। स्पेसएक्स तथा टेस्लाका प्रमुख एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको पुनरागमनप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। एनभिडियाका वर्तमान तथा पूर्व कर्मचारी, लगानीकर्ता र व्यावसायिक साझेदारहरूको समर्थन जुटाउने उद्देश्यले ‘स्ट्यान्ड विथ जेन्सेन’ नामक अभियानसमेत सञ्चालन भइरहेको छ।
तर एसोसिएटेड प्रेस (एपी) का अनुसार एनभिडियाको सञ्चालक समिति तत्काल हुआङलाई पुनः नियुक्त गर्ने पक्षमा देखिएको छैन। कम्पनीले यस विषयमा स्वतन्त्र अनुसन्धान अघि बढाइरहेको छ।
हुआङले चीनको गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गरिएकी एक चिनियाँ व्यवसायीसँग व्यक्तिगत सम्बन्ध राखेको विषय सार्वजनिक भएपछि कम्पनीको नेतृत्व छाडेका थिए। ती महिला सिंगापुरस्थित मेगास्पिड इन्टरनेसनल नामक क्लाउड कम्प्युटिङ कम्पनीकी पूर्व कार्यकारी हुन्। उक्त कम्पनीमाथि अमेरिकी निर्यात नियन्त्रण उल्लङ्घन गर्दै एनभिडियाका उन्नत एआई चिप्स चीन पुर्याएको आरोपमा अनुसन्धान भइरहेको छ। ती महिलामाथि गुप्तचर निकायसँग सम्बन्ध रहेको आरोप भने पुष्टि भइसकेको छैन।
यसैबीच, अमेरिकी संसद्का तीन समितिले हुआङलाई डिसेम्बर १ मा बयानका लागि उपस्थित हुन आग्रह गरेका छन्। एनभिडियाका कानुनी प्रमुख टिम टेटरले डिसेम्बर २ मा बयान दिने कार्यक्रम छ। अनुसन्धानको मुख्य चासो अमेरिकी राष्ट्रिय सुरक्षासँग सम्बन्धित प्रविधि चीनसम्म पुगेको विषयमा केन्द्रित छ।
एनभिडियाले पनि राष्ट्रिय सुरक्षा र निर्यात नियन्त्रणसम्बन्धी विषयको निगरानी गर्न सञ्चालक समितिअन्तर्गत नयाँ समिति गठन गरेको घोषणा गरेको छ। कम्पनीका अनुसार उक्त समितिले राष्ट्रिय सुरक्षा नीति तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी नियमहरूको पालना सुनिश्चित गर्न काम गर्नेछ।
एनभिडिया विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनीमध्ये एक हो। यसको चिप उच्च क्षमताका कम्प्युटर प्रणाली, डेटा सेन्टर र कृत्रिम बुद्धिमत्ता प्रविधिको विकासमा व्यापक रूपमा प्रयोग हुँदै आएको छ। हुआङको नेतृत्व परिवर्तन र चीनसँग जोडिएको विवादले कम्पनीको व्यवस्थापन तथा भविष्यको व्यावसायिक रणनीतिबारे थप प्रश्न खडा गरेको छ।
स्रोत: एसोसिएटेड प्रेस (एपी), रोयटर्स, द वासिङ्टन पोस्ट।
