अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको शपथ लिनुभन्दा ठीक तीन दिन अगाडि, जनवरी १७, २०२५ मा सोलाना ब्लकचेन नेटवर्कमा आधारित आफ्नो एकमात्र आधिकारिक मेमेक्वाइन सार्वजनिक गर्नुभएको थियो। सुरुमा बजारमा यसको वैधानिकतालाई लिएर अनेकौं आशंका गरिए पनि राष्ट्रपति ट्रम्प आफैंले सामाजिक सञ्जाल मार्फत यसको पुष्टि गर्नुभयो। हालै सार्वजनिक भएको अमेरिकी सरकारी वित्तीय विवरण (Financial Disclosure) अनुसार, राष्ट्रपति ट्रम्पले गत एक वर्षमा क्रिप्टो व्यवसाय र यो मेमेक्वाइन परियोजनाबाट मात्रै १ अर्ब डलरभन्दा बढी (करीब $1.2 Billion) आम्दानी गर्नुभएको छ। यस आकर्षक आम्दानीमा ६३ करोड ५० लाख डलर टोकन जारी गर्ने कम्पनीबाट प्राप्त लाइसेन्स रोयल्टी र सबैभन्दा बढी क्वाईन किन्ने शीर्ष २५ धनाढ्यहरूका लागि आयोजना गरिएको विशेष डिनर तथा ह्वाइट हाउस भ्रमणको टिकट बिक्रीबाट संकलन भएको १४ करोड ८० लाख डलर समावेश छ।
यद्यपि, यो डिजिटल मुद्रा परियोजना अमेरिकी इतिहासमै गम्भीर कानुनी र नैतिक विवादको केन्द्र बनेको छ। देशको राष्ट्रपति बजार नियमन गर्ने सर्वोच्च स्थानमा रहने र आफैं मेमेक्वाइन बेचेर अर्बौं रुपैयाँ कमाउने कार्यले स्वार्थको ठूलो द्वन्द्व (Conflict of Interest) निम्त्याएको भन्दै तीव्र आलोचना भइरहेको छ। थप रूपमा, यस क्वाईनका शीर्ष खरिदकर्ताहरूमा धेरैजसो अपारदर्शी विदेशी नागरिक र संस्थाहरू रहेकाले विदेशी शक्तिहरूले अमेरिकी नीतिलाई प्रभावित पार्न वा राष्ट्रपतिको निकटता पाउन वित्तीय माध्यम बनाएको आशंका गरिएको छ। सर्वसाधारण लगानीकर्ताका लागि यो झनै प्रत्युत्पादक बन्यो, किनकि लन्चको सुरुवाती समयमा प्रतिटोकन ७४ डलरसम्म पुगेको यसको मूल्य ट्रम्प र उनका सहयोगीहरूले नाफा सुरक्षित गरेलगत्तै तीव्र रूपमा घटेर अहिले २ डलरभन्दा तल झरेको छ। यसरी ह्वाइट हाउसको गरिमा र पहुँचलाई एउटा अस्थिर डिजिटल टोकन प्रवर्द्धनका लागि प्रयोग गरिएको भन्दै आचारसंहिता विज्ञहरूले यसलाई शक्तिको चरम दुरुपयोग र खुल्ला भ्रष्टाचारको संज्ञा दिएका छन्।
