भत्काइए ६० छाउगोठ

अछाम — मंसिर १५ गते राति अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो । उक्त घटनापछि अछामका जनप्रतिनिधि र राजनीतिक दललगायत सरोकारवालाले पुन: छाउपडीविरुद्ध अभियान चलाएका छन् ।

साँफेबगर–३ का वडाध्यक्ष कृष्ण बुढाका अनुसार पार्वतीले छाउ बार्न प्रयोग गरेको गोठसहित ६० वटा छाउगोठ भत्काइएको छ । सिद्धेश्वरका ८ सय २६ घरधुरीमा छाउगोठमा बस्ने गरे/नगरेको र छाउ बार्ने अवस्थाबारे अनुगमन गरिएको उनले बताए । ‘जबसम्म छाउगोठ रहन्छन्, तबसम्म तिनमा ज्यान जाने सम्भावना रहन्छ भन्ने निष्कर्ष निकाल्यौं,’ उनले भने, ‘एकचरण सिद्धेश्वरका सबै घरधुरी अनुगमन गरेर सकियो । पुराना संरचना, सानो घर, एउटा मात्रै कोठा भएका घरमा अझै पनि समस्या देखियो ।’

वडाध्यक्ष बुढाका अनुसार भौतिक संरचना अभावले छाउगोठमा बस्नेहरूको बाध्यतालाई वडा र नगरबाट विशेष पहल गरेर घरमा बसाउने उनले बताए । ‘केही घरमा महिनावारी बार्नलाई सुरक्षित बसेको र व्यवस्थित कोठा पनि भेटिए । तर ती कोठा घरसँगै जोडिएका भने छैनन्,’ उनले भने, ‘त्यसरी बसेकाहरूलाई पनि समयमै व्यवस्थित हुन आग्रह गरेका छौं ।’

पार्वतीलाई छाउगोठमा बसाउन बाध्य पारेको भन्दै जेठाजु छत्र रावतलाई पक्राउ गरेको विषयमा भने प्रहरीले कुरा नबुझेको बुढाले बताए । ‘पार्वती सामाजिक परम्पराले नै छाउगोठमा बसेकी हुन् । जेठाजुलाई पक्राउ गरेर कानुन सही प्रयोग भयो भन्ने लाग्दैन,’ उनले भने, ‘जेठाजुले जबर्जस्ती बसाएका होइनन् ।’ छाउ बार्न गोठमा गएकै कारण ज्यान जाने र त्यही घरका सदस्य जेल जानुपर्ने अवस्था आएपछि महिलाहरूकै सक्रियतामा छाउगोठ भत्काउन थालेको सिद्धेश्वरकी महिला अगुवा राजमती कुँवरले बताइन् । ‘यहाँका महिलाहरू सामाजिक परम्पराले छाउगोठमा छन्, तर अब चेत खुल्दैछ,’ उनले भनिन्, ‘सुरक्षित बस्ने तरिका बुझाइरहेका भत्काइए ६० छाउगोठछौं ।’

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले घोषणाका लागि मात्रै छाउगोठमुक्त नभनिने बताए । ‘छाउगोठमुक्त वडा घोषणाका लागि ११ चरण पार गर्ने नीति बनाउन थालेका छौं,’ उनले भने, ‘प्रहरी, पत्रकार, प्रशासनको उपस्थितिमा अन्तिम चरणको अनुगमन गर्छौं ।’ छाउगोठ भत्काएर त्रिपाल टाँगेर बस्ने गरेको पनि यसअघि भेटिएकाले ‘मेरो घरमा छाउपडी गोठ छैन’ भन्ने परिचयपत्र दिने उनले बताए । ‘गोठमा नबस्नुहोस् भन्दै आग्रह गर्ने हो । त्यति भन्दा पनि छाउगोठमा बस्न छोडेनन् भने कानुन कार्यान्वयनतर्फ जोड दिन्छौं,’ उनले भने, ‘राति पनि छाउगोठमा बसे/नबसेको अनुगमन गर्छौं । गोठमा बसेको भेटिए कानुनअनुसार कारबाही गर्छौं ।’

अछाममा १० वर्षयता १४ जना किशोरी तथा महिलाको छाउगोठमै मृत्यु भएको छ । १० वटा स्थानीय तहका ९१ वडामा छाउप्रथा कायमै रहँदा पनि स्थानीय तहमा ठोस योजना छैनन् । ‘छाउप्रथा हटाउन ठोस अभियान भएन,’ चौरपाटी गाउँपालिकाका उपाध्यक्ष माया कुँवरले भनिन्, ‘महिलाको क्षेत्रमा २० लाख बजेट छ, तर खर्च दिवस, सभा समारोह, तालिम, गोष्ठीमा भइरहेको छ ।’ कमलबजार नगरपालिका प्रमुख ओमप्रकाश विष्टका अनुसार नगरका १० वटै वडामा छाउगोठ छन् । धेरै महिला तथा किशोरी छाउगोठमा बस्ने गरेका छन् । ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउदका अनुसार चालु वर्ष महिलाको क्षेत्रमा १२ लाख बजेट विनियोजन गरिएको छ । तर महिला तथा बालबालिका शाखाका कर्मचारी नहुँदा कार्यक्रमको योजना बन्न सकेको छैन । ‘ओडारमा बस्नेदेखि त्रिपालमा बस्नेहरू पनि छन् । तर, महिलाहरू नै सुरक्षित बस्न नचाहेको भेटियो,’
उनले भनिन्।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले चालु आवमा मर्यादित महिनावारी व्यवस्थापन कार्यक्रमलाई अघि सारेको बताए। ‘छाउ बार्ने प्रथा कुनैमा कम, कुनैमा बढी भन्ने छैन । अछामको अवस्था एकैनासको छ।’

चार नगर र ६ गाउँपालिका गरी जिल्लाका १० वटा स्थानीय तहका ९१ वडा छन् । यिनमा हालसम्म ३३ वटा वडा छाउपडीगोठमुक्त घोषणा भइसकेको तथ्यांक विभिन्न निकायसँग छ । विगतमा भन्दा अहिले परिवर्तन संस्थागत हुँदै गइरहेको छाउपडी प्रथा उन्मूलन अभियन्ता पशुपति कुँवरले बताइन् ।

Advertisement